१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

विद्या भण्डारीको सदस्यता नविकरण गर्नु पार्टी नेता र अध्यक्ष बनाउन खोज्नु होः अध्यक्ष ओली

७ साउन, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता एवं पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता नविकरण गर्नुभनेको पार्टी अध्यक्ष बनाउन खोज्नु हो भन्दै केन्द्रीय कमिटी बैठकमा आपत्ति जनाउनुभएको छ । चर्को होहल्लाका बीचमा केन्द्रीय कमिटी बैठकमा एकोहोरो सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीको एमाले आगमनले आफ्नो अध्यक्ष पद धरापमा पर्ने बताउनुभयो  ।

दैनिकीको सम्पर्कमा रहनुभएको एमालेका एक जना केन्द्रीय कमिटी सदस्यले बैठकमा होहल्लाकाबीचमा ओलीले बोलेको कुरा उधृत गर्दै भन्नुभयो, ‘उहाँ (विद्यादेवी भण्डारी)को सदस्यता नविकरण गर्नु पार्टी नेता र अध्यक्ष बनाउन खोज्नु हो । त्यसैले उहाँलाइ सम्मानित रूपमा पार्टीबाहिर राख्दा नै प्रणाली, पार्टी र उहाँ स्वयंको हित हुन्छ ।’

विद्या भण्डारीलाई एमालेमा सक्रिय हुन दिँदा आफ्नो अध्यक्ष खोसिने भन्दै ओलीले भण्डारीको सदस्यतमा ‘कु’ गर्ने घोषणा गर्नुभयो । तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधन गर्ने क्रममा ओलीले सदस्यता नविकरण नहुने घोषणा गर्नुभयो । ओलीले एमालेको विधानको धारा ८ र ९ उद्धृत गर्दै पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नै त्रुटिपूर्ण रहेको अर्को घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको विधानको धारा ८ र ९ अनुसार पूर्वराष्ट्रपतिको संगठित सदस्यता नवीकरण गरेको कुरा नै त्रुटिपूर्ण छ । उहाँको संगठित सदस्यता पार्टीले निर्णय नगरेसम्म नवीकरण हुन सक्दैन । उहाँले सदस्यता त्यागिसकेको अवस्थामा पार्टीले नयाँ निर्णय गरेर मात्रै नवीकरण सम्भव हुन्छ ।’

नेता भण्डारीले पार्टीको आगामी महाधिवेशनबाट अध्यक्षमा दाबी गर्ने तयारी गरेर गत असार १४ मा पार्टीमा फर्केको सार्वजनिक घोषणा गरेपछि ओलीसहितका नेता तनावमा थिए । ओलीले ‘कु’ को घोषणा गर्दै गर्दा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीसहित अन्य दर्जनौ केन्द्रीय कमिटी सदस्यले उठेर नाराबाजी र होहल्ला गरेका थिए । ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आउन खोजेको भन्दै भण्डारीको चर्को आालोचना गर्नुभयो ।

नेता भण्डारीले मंगलबार दिउँसो आफ्नै निवासमा केही सञ्चारर्मीसँग कुरा गर्दै आफूलाई देश जनताको हितमा सुशासनका लागि राजनीति गर्ने तीब्र इच्छाशक्ति भएकाले सदस्यता नविकरण गरेर अघि बढेको बताउनुभएको थियो । यसअघि एमाले महासचिव शंकर पोखरेलले भण्डारीका लागि एमालेमा च्याप्टरक्लोज भएको घोषणा सामाजिक सञ्जलाबाटै गर्नुभएको थियो ।

प्रकाशित मिति : July 23, 2025 at 7:02 am