विदेश पठाइदिने भन्दै २१ लाख ६४ हजार ठगी गर्ने दुई जना पक्राउ
६ साउन, काठमाडाैं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु २१ लाख ६४ हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१५ बस्ने २९ वर्षीया जुनु रानाथापामगर र बर्दियाको गुलरिया नगरपालिका–२ घर भई हाल काठमाडौँ–३२ बस्ने ३३ वर्षीय सुदीपकुमार यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये जुनुले स्लोभाकिया पठाइदिने भन्दै रु तीन लाख १० हजार र सुदीपले सर्बिया पठाइदिने भन्दै रु १८ लाख ५४ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो ।
प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १४:१३












