अर्घाखाँचीमा मकैबाली जोगाउन हेरालु नियुक्त
६ साउन, अर्घाखाँची । अर्घाखाँचीमा वन्यजन्तुबाट बालीनाली जोगाउन हेरालु नियुक्त गरिएको छ । सो कार्यका लागि २० कर्मचारी नियुक्ति गरिएको छ ।
कार्यालयले वन्यजन्तु प्रभावित क्षेत्रलाई लक्षित गरी वन संवद्र्धन प्राणालीमा आधारित वन व्यवस्थापन कार्य गरिरहेका १० समूहको समेत लागत साझेदारीमा जिल्लामा पहिलोपटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो । कार्यालयले आगामी कात्तिक ५ गतेसम्मका लागि मकैबालीलाइ लक्षित गरी सञ्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरी हेरालुलाई प्रभावित क्षेत्रमा आवश्यक सामग्रीसहित खटाएको छ ।
वन्यजन्तुबाट प्रभावित सन्धिखर्क नगरपालिकाको किमडाँडा र पटुवाथुम, पाणिनी गाउँपालिकाको पाली र अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा र अर्घातोष तथा मालारानी गाउँपालिकाको खनलगायतका स्थानमा उनीहरुलाई खटाइएको कार्यालयका सूचना अधिकारी केशव खड्काले बताउनुभयो । छवटा स्थानीय तहका १० क्षेत्रमा दुई–दुई जनाका दरले हेरालु राखिएको छ । हेरालुले मासिक रु १० हजार पारिश्रमिकसहित सञ्चारक खर्च पाउने छन् ।
शीतगङ्गा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० सामुदायिक वनले मासिक रु दुई लाख सहयोग गरेको छ । साउनदेखि कात्तिक ५ गतेसम्म खेतबारीमा रहने मकै, सिमी, बोडी, फर्सी, काँक्रालगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलको आतङ्क हुने भएकाले यस वर्ष परीक्षणका रूपमा हेरालु राखिएको हो । नियुक्त गरिएका कर्मचारीलाई बाँदर र बँदेल धपाउन तालिम पनि दिइएको थियो । हेरालुले दिनभर गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन निर्देशन दिएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 13:46









