१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन

३० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“प्रधानमन्त्रीको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु”, मन्त्री लेखकले भन्नुभयो, “स्पेन जान भिजिट भिषाको प्रबन्ध कसले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।”

उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमणमा जानुभएको थियो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १२:३०