२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

डिम्याट खाता नवीकरण गर्नुभयो ? घरमै बसेर अनलाइनबाट यसरी गर्नुहोस्

२३ असार काठमाडौं । हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। असार मसान्तभित्र खाता नवीकरण नगरेमा खाता फ्रिज हुनेछ। निक्षेप सदस्यहरूले डिम्याट खाता नवीकरण गर्न आग्रह गर्दै सार्वजनिक सूचना जारी गरेका छन् ।

असार मसान्तसम्म खाता नवीकरण नभएमा डिम्याट खाता रोक्का हुन जान्छ, जसले गर्दा भएको सेयर बेच्न पाइँदैन भने नयाँ सेयर खरिद गर्न पनि मिल्दैन । डिम्याट खाता नवीकरणवापत प्रत्येक वर्ष १ सय रुपैयाँ शुल्क बुझाएर नवीकरण गर्नुपर्छ । साथै मेरो सेयर नवीकरणवापत ५० रुपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्दछ ।

निक्षेप सदस्यकहाँ नै गएर डिम्याट खातासँगै ‘मेरो सेयर’ अनलाइनको शुल्क बुझाउन सकिन्छ। तर घरमै बसेर अनलाइनबाटै पनि डिम्याट खातासँगै मेरो सेयर नवीकरण गर्न सकिने व्यवस्था छ।

घरमै बसेर अनलाइनबाटै कसरी नवीकरण गर्ने खाता ? 

घरमै बसेर अनलाइन प्रणाली मेरो सेयर तथा भुक्तानीका विभिन्न माध्यममार्फत डिम्याट खाता नवीकरण गर्न सकिन्छ । सबैभन्दा पहिले मेरो सेयर खोल्नुपर्ने हुन्छ। त्यसपछि माथि दायाँ आफ्नो नाममा क्लिक गर्नुस्। ‘रिन्यू एकाउन्ट’मा जानुस्। त्यसपछि भुक्तानीका माध्यम इसेवा, खल्ती वा एनसिएचएलको कनेक्ट आइपिएसमध्ये  भुक्तानी गर्ने माध्यम छनौट गरी त्यसमै क्लिक गर्नुस्।

मेरो सेयर र डिम्याट दुवै नवीकरण, मेरो सेयर वा डिम्याट नवीकरणमध्ये एक छनोट गर्नुहोस् । मेरो सेयर पनि बर्सेनि नवीकरण गर्नुपर्ने भएकाले नवीकरण नगरेकाले ‘मेरो सेयर एण्ड डिम्याट’ क्लिक गर्नुहोस् । ‘प्रोसिड’ मा क्लिक गरी भुक्तानी माध्यमको युजर नेम तथा पासवर्ड प्रयोग गरी लगइन गर्नुहोस् । अब पैसा तिर्ने माध्यम इसेवा, खल्ती वा कनेक्ट आइपिएस खुल्छ। त्यसपछि रकम ‘पे’ वा ‘सबमिट’ गर्नुहोस् । आफू ती माध्यममा आवद्ध नभएको अवस्थामा साथीभाईकोबाट पनि भुक्तानी गर्न सकिन्छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार ११:०३