१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

सीटीईभीटीद्वारा प्रि-डिप्लोमा तहको छात्रवृत्तिका लागि आवेदन खुला

२२ असार, काठमाडाैँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि निःशुल्क छात्रवृत्तिमा आवेदन खुला गरेको छ।

सीटीईभीटी अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सोमबार एक सूचना प्रकाशित गर्दै विभिन्न प्राविधिक शिक्षाका कार्यक्रमहरूमा छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले अनलाइन आवेदन दिन सक्ने जानकारी दिएको हो।

सूचना अनुसार, यो छात्रवृत्तिमा आवेदन दिनका लागि विद्यार्थीले सरकारी वा सामुदायिक विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। अनलाइन आवेदन फाराम परिषद्को आधिकारिक पोर्टलमार्फत भर्ने व्यवस्था गरिएको छ।

छात्रवृत्तिमा सहभागी हुन चाहने विद्यार्थीहरूले २०८२ साउन ११ गतेसम्म अनलाइन आवेदन फारम बुझाइसक्नुपर्नेछ।

आवेदन भर्दा विद्यार्थीले आफूले अध्ययन गर्न चाहेको प्रि-डिप्लोमा कार्यक्रम, प्रदेश, र सम्बन्धित शिक्षालय स्पष्ट रूपमा छनोट गर्नुपर्नेछ। एक विद्यार्थीले एकपटकमा एउटै प्रदेश अन्तर्गतको एउटै कार्यक्रमका लागि मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। छात्रवृत्तिको प्रतिस्पर्धा पनि प्रदेशस्तरमै हुने र योग्यताक्रम सूची सोही अनुसार प्रकाशन गरिने सीटीईभीटीले जनाएको छ।

यस छात्रवृत्ति अन्तर्गत कृषि, पशु विज्ञान, सिभिल इञ्जिनियरिङ, विद्युतीय, मेकानिकल, इलेक्ट्रोनिक्स, आयुर्वेद, स्वास्थ्य, प्रयोगशाला, औषधि लगायतका विविध प्राविधिक कार्यक्रमहरू समावेश गरिएको छ।

आवेदकले अनिवार्य रूपमा हालसालै खिचिएको पासपोर्ट साइज फोटो, नागरिकता प्रमाणपत्र (वा जन्म प्रमाणपत्र) र एसईई प्रमाणपत्र वा ग्रेडसिट स्क्यान गरी अनलाइन प्रणालीमा अपलोड गर्नुपर्नेछ।

सीटीईभीटीले सूचना प्रकाशित गर्दै समयमै आवेदन भर्न र आवश्यक कागजात तयार पार्न विद्यार्थीहरूलाई आग्रह गरेको छ।

यस्ताे छ सूचनाः

 

प्रकाशित मिति : 09:11