२ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026

खुला प्रतिस्पर्धामार्फत त्रिविको उपकुलपति नियुक्त गर्न नेविसङ्घको माग

१५ असार, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यता प्रणालीमा आधारित भएर खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले आज मातहतका निकायलाई परिपत्र जारी गरी उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यताका आधारमा खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न माग गर्न र नगरेमा दबाबमूलक अभियान चलाउन माग गर्नुभएको हो ।

नेविसङ्घको अभियान र दबाबका कारण बनेको कार्यविधिलाई लत्याएर राजनीतिक भागबण्डाका आधारमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त नगर्न पनि उहाँले अनुरोध गर्नुभएको छ । “प्राज्ञिक योग्यता, पारदर्शीता र मर्यादालाई लत्याउँदै राजनीतिक भागबण्डा र सत्ता नजिकका समूहको स्वार्थपूर्ति गर्ने नियतले पदपूर्ति प्रक्रिया अघि बढिरहेको स्पष्ट सङ्केत देखिन थालेको छ, यस्ता अभ्यासको नेविसङ्घ निन्दा गर्दछ, यस्ता बेथितिविरुद्ध विभिन्न अभियान सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिइएको छ”, अध्यक्ष शेर्पाले आज जारी गर्नुभएको परिपत्रमा भनिएको छ ।

यसका लागि सार्वजनिक बहस, हस्ताक्षर सङ्कलन अभियानलगायत अन्य दबाबमूलक रचनात्मक कार्यक्रम गर्न पनि नेविसङ्घले मातहतका निकायलाई निर्देशन दिएको छ । दलीय भागबण्डामा नियुक्त गर्न लागिएकामा संयुक्त विरोधपत्र तयार पारेर सम्बन्धित निकायलाई बुझाइने पनि उहाँले बताउनुभयो । यो अभियानमा अन्य सङ्गठन र स्वतन्त्र समूहसमेतलाई जोड्ने नीति पनि नेविसङ्घले लिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०८२, आईतवार १३:०३