२५ असार २०८२, बुधबार | Wed Jul 9 2025

बजेटले वित्तीय अनुशासन कायम गर्न सकेनः सांसद सुवेदी

५ असार, काठमाडाैं । सांसद विमला सुवेदीले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको जिकिर गर्नुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी खर्च कटौतीको प्रस्ताव प्रस्तुत  गर्दै सुवेदीले बजेटले वित्तीय अनुशासन कायम गर्न नसकेको जिकिर गर्नुभएकाे हाे । असन्तुलित बजेटले उत्पादनमुखी अर्थतन्त्रको विकासलाई ध्यान दिन नसकेको उहाँको भनाइ छ ।

सांसद सुवेदीले निजामती विधेयक राज्यव्यवस्था समितिबाट पास भएर आएको भएपनि त्यसलाई सदनबाट शीघ्र पारित गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्यालय शिक्षा विधेयकसहित अन्य कानुन निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो ।

सांसद सुवेदीले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गर्नुभयो । उहाँले युद्धग्रस्त मुलुकका नेपालीको सुरक्षा र रोजगारीको उचित प्रवन्ध गर्न जरुरी भएको उल्लेख गर्नुभयो । सङ्घीयतालाई बलियो बनाउदै प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार १६:४२