३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

संसद् बैठक सञ्चालनः भिजिट भिसामार्फत हुने मानव तस्करी छानबिन गर्न विपक्षीको माग

३० जेठ, काठमाडौँ । प्रतिनिधिसभाको लामो समयदेखि अवरुद्ध भएको संसद् बैठक आजदेखि सञ्चालन भएको छ । प्रतिनिधिसभाको आज बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति भएपछि बैठक सञ्चालन गर्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू उठेर टेबुल ठटाइ विरोध गरिहरनुभएको थियो । त्यसलगत्तै सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्नका लागि समय दिनुभयो ।

विपक्षी दलका प्रमुख सचेतक पाण्डेले यही जेठ १३ गतेदेखि निरन्तर अध्यागमन विभाग र भिजिट भिसा प्रकरणमा देखिएका बेथिति, भ्रष्टाचार, मानव तस्करी र विकृतिका विषयमा निरन्तर आवाज उठाउँदै आएको र त्यसको छानबिन गर्न माग गर्नुभयो ।

“अध्यागमन कार्यालय र भिजिट भिसाको विषयमा नीतिगत, कानुनी र संरचनागत सुधार गरी बदमासी गर्नेलाई उचित कारबाही गर्न अध्ययन छानबिन समिति गठन गर्न सरकारसँग माग गर्छु”, उहाँले भन्नुभयो, “अध्यागमन र भिजिट भिसा आमजनताको समस्याका रूपमा आएको छ, यसलाई निराकरण गरेर अघि बढ्ने मूल विषय हो, जनतालाई विश्वासमा लिएर व्यवहारबाट अगाडि बढ्न जरुरी छ ।”

सांसद पाण्डेले विपक्षीले राखेका सवाललाई नेपाल सरकारले विश्वस्त हुनेगरी सदनमा र व्यवहारमा देखाउने विश्वासका साथ सदनलाई सञ्चालन गर्ने सहमति गरेको जानकारी दिनुभयो ।

“आफ्नो रोजगारीको समस्याका कारण विदेश जान लागेका नेपाली दिदीबहिनी दाजुभाइहरूलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलगायत सरकारी कार्यालयबाट गैरकानुनी रूपमा मिलेमतो गरेको देखियो”, सांसद पाण्डेले भन्नुभयो, “भिजिट भिसामार्फत मानव तस्करीजस्ता गम्भीर विषय सार्वजनिक भएको छ, यसले देशको छविमा गम्भीर असर परेको छ ।”

सांसद पाण्डेले अध्यागमन र भिजिट भिसा प्रकरणमा सरकारी कर्मचारी, ट्राभल ऐजेन्सी, म्यानपावर कम्पनी र एयरलायन्स आदिबारे सत्यतथ्य पत्ता लगाई दोषीउपर कडा कानुनी कारबाही गर्न माग गर्नुभयो ।

प्रकाशित मिति : June 13, 2025 at 6:10 pm