फाँसिवादी मोडतर्फ ओली यात्रा: विचारको संकीर्णताको समालोचना
-नवराज पाैडेल
प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष के पी ओलीले अनेरास्ववियुकाे महाधिवेशनमा अभिव्यक्त गरेको धारणा स्वाभाविकरुपमा सार्वजनिक चासोको विषय बनेकाे छ । उक्त महाधिवेशन उद्घाटन गर्दै गर्दा राजनीतिक चेतनाको नर्सरीमा उभिएर पानी हाेइन विष घाेल्दै गरेकाे आम अनुभूति हुने गरि उनको अभिव्यक्ति थियाे,”अर्को खेल हुन खाेज्या छ यहाँ । अब फलाना आउने अरे यहाँ, फलाना आउने रे ! … यस्ता बाहिरी हल्ला चलाएर पार्टी कमजोर पार्न खाेजे सह्य हुँदैन । यस्ता कुरा लिएर काेही आए ठाउँका ठाउँ प्रतिवाद गर्नुस् । स्ट्याटस लेख्नेलाई पनि स्ट्याटसबाटै जबाफ दिँदा हुन्छ ।” याे अभिव्यक्ति दिँदा उहाँको अनुहार र भावभङ्गी सम्पूर्ण रूपले आक्रामक थियाे, मानाैँ उहाँ प्रधानमन्त्री भएको बेला देशलाई बैदेशिक आक्रमण गरिँदैछ र देश बचाउन जनतालाई आह्वान ! अनि पार्टी माथि बाह्य वर्गशत्रुबाट निशाना साँधिदैछ त्यसैले सङ्गठित प्रतिवादका लागि सार्वजनिक आह्वान ! जुन आह्वानमा देश र जनता बिराेधी बैरी बिरुद्धकाे युद्ध अभ्यास र गम्भीर लडाइँको तयारी अपरिहार्य छ र प्रमुख पदाधिकारी हुनुका नाताले जनता, कार्यकर्ता गुहार्नुकाे विकल्पै छैन जसरी प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीकाे अन्तरहृदयदेखिकै आक्राेश भेटिन्छ वास्तविकतामा त्यसाे नभएर पद र शक्ति कब्जामा कार्यकर्ताकाे निर्विकल्प साथका लागि दबाब थियो । उनी अहिले पार्टी सत्ता र राज्यसत्ता दुवैको डण्डा बाेकेर बसेका छन् । तर उनको भाषणमा पार्टी भित्रकाे आन्तरिक लाेकतन्त्र कत्लेआम पारेर निर्देशित र नेतृत्वको स्वेच्छाचारी यात्रामा इफ, बट नभनी लतारिने “झाेले” बन्न विद्यार्थी फाँटमा क्रियाशील कार्यकर्तालाई प्रशिक्षित गरिएको थियाे र आन्तरिक लाेकतान्त्रिकरणकाे सार्थक अभ्यासका बिरुद्ध पार्टी भित्रकै सहयाेद्धालाई सफाया गर्ने घाेषणा पनि !
हिजो केपी ओलीको व्यक्तित्व निरङ्कुशता बिराेधी एक कम्युनिस्ट नेतृत्वका रुपमा विकसित भएको हाे । एउटा कम्युनिस्ट हुनु भनेकाे वर्तमानको राज्यसत्ताको चरित्रसँगकाे विद्रोही हुनुमात्र नभई अधिकार र कर्तव्यबोध बाट स्वनिर्देशित वैज्ञानिक चेतनायुक्त उच्च काेटीकाे मानव नेतृत्वको रुपमा आफ्नो व्यक्तित्वलाई निखार्ने यात्री बन्नु हाे । पूँजीवादी व्यवस्थामा कम्युनिस्टकाे कर्तव्य पुँजीको केन्द्रीकरण मार्फत गरिने आर्थिक, सामाजिक र साँस्कृतिक शाेषणका विरुद्धको पूर्ण मानवतावादी व्यक्तित्वमा आफूलाई बदल्दै जानू हाे । राज्यसत्ताको निरङ्कुश र स्वेच्छाचारी तथा मानवताविरोधी क्रियाकलाप बिरुद्ध सङ्घर्षमा उभिएर हरेकलाई सचेत, जागरुक र आलोचनात्मक चेतसहितकाे स्वतन्त्र नागरिक समाज निर्माणकाे नेतृत्व गर्नु हाे । त्यसका लागि सबैभन्दा पहिले कम्युनिस्ट पार्टी भित्र स्वस्थ प्रतिस्पर्धात्मक वैज्ञानिक संरचना निर्माण तथा नीति, विधि र नेतृत्व व्यवस्थापनमा सामूहिक चेतनाकाे भूमिका स्थापित गर्दै त्यसैकाे अनुकरणमा सिङ्गो समाजलाई डाेर्याउने, दिक्षित गर्ने जिम्मेवारी बहन गर्नु हाे ।
ओली स्वयं नेकपा (एमाले) लाई आधारभूत वर्गकाे मुक्ति दस्ता र साम्यवादी समाज निर्माणका बाधक चेतना बिरुद्ध पार्टीको आन्तरिक लाेकतान्त्रिकरण र सामाजिक पद्धतिको जनवादीकरणकाे सिद्धान्तकाे रुपमा विकसित जनताकाे बहुदलीय जनवादको अनुयायी दावी गर्दै कार्यकर्ताकाे बलमा नेतृत्वमा पुगेका हुन् र यसरी नेतृत्वमा स्थापित गर्नुमा सिद्धान्तको रुपमा जबजले, संगठनका रुपमा मदन भण्डारी फाउन्डेसनले र नजिककाे सहयोगी नेतृत्वका रुपमा विद्या भण्डारी देखि कर्ण थापासम्मका मानिसको अतुलनीय याेगदान रहेकाे छ । तर बिडम्वना जुन सिद्धान्तको प्रचारले उनलाई निडर र स्वाभिमानी नेताकाे रुपमा स्थापित गरायो त्यसलाई कुल्चँदै “झाेले” अभियानका प्रवर्तक भएको सगाैरब घाेषणा गर्दै छन् भने आफू बसेकाे कुर्सीमा बाँचुन्जेल कसैले आँखा लगाए “सह्य नहुने” हुङ्कार गर्दै सहयाेद्धालाई शीर उठाउन नदिएर आफू अग्लो देखिने प्रयासमा छन् । उनकाे याे परिवर्तन जसरी सडकमा जुत्ता सिलाउने मजदुरकाे पृष्ठभूमिबाट समाजवादी पहिचान बनाउँदै अन्तिममा खुङ्खार फासिवादी तानाशाहमा बदलिएका हिटलरकाे जस्तै देखापरेकाे छ । यसले शक्तिकाे धम्कीका आडमा सिमित मान्छेलाई अघिपछि लगाउँदै आन्तरिक लाेतन्त्रकाे चिरहरण गर्ने र हुकुम प्रमाङ्गीबाट शासन चलाउन खाेज्ने तथा फरक विचारकाे मुन्टाे निमाेठ्दै लम्पट सर्वहाराकरणमा कार्यकर्तालाई बदल्न चाहने चेतना निर्माण नै उनकाे अभीष्ट त बन्दै छैन भन्ने गम्भीर सवाल उब्जाइरहेका छन् ।
ओली जब एमालेको नेतृत्वमा उदाए त्यस लगत्तै उनले आन्तरिक प्रतिस्पर्धामा उभिएका माधव नेपाल, झलनाथ खनाल लगायतका नेतालाई मानमर्दन गर्ने, जिम्मेवारीबाट पन्छाएर हताेत्साहित गर्ने र पार्टी बाहिरकालाई भित्र्याएर भित्रकालाई बाहिरिने वातावरण तर्फ प्रवृत्त देखिए । नेकपा निर्माण र विघटन उनकै चाहनाकाे उपज बन्याे । नेकपा चार टुक्रा भयो भने एमाले तीन टुक्रामा विभाजन भयो । पछिल्लो समय दशबुँदे समझदारीको जगमा टेकेर एमाले भित्र बसेका तर जबजकाे मर्मअनुरुप आन्तरिक प्रतिस्पर्धामा अड्न खाेज्ने भीम रावल र घनश्याम भुषालहरु लखेटिए, उनीहरुको स्थानमा दिपक बाेहाेरा र कमल थापाहरु प्राथमिकता परे । पार्टीको पङ्तिकाे स्वाभिमान गिराउने गरि “मीन भवन” बनाउने स्वेच्छाचारी निर्णयप्रति टिप्पणी गरेकै आधारमा बिन्दा पाण्डे र उषाकिरण तिमल्सिनाहरु निलम्बनमा परे । “अघिल्लो महाधिवेशनले गरेको फैसला अनुसार ७० वर्षको उमेर हद कार्यान्वयन र कम्युनिस्ट एकताको आधार पुनः निर्माण गर्न नेतृत्वमा परिवर्तन” का मुद्दा सहित पार्टी जबजकाे मार्गनिर्देशन बाट चल्नुपर्छ भन्ने कर्ण थापा र एक भरपर्दो राष्ट्रिय व्यक्तित्वसहित अन्तर्राष्ट्रिय पहिचान बनाउनुभएकी पूर्वराष्ट्रपति विद्या भण्डारीसमेत ओलीले अबकाे निशाना बनाउनु केवल एमालेका लागि मात्रै नभई समग्र देशको लाेकतान्त्रिकरण प्रक्रियालाई पद्धतिमा ढाल्ने सन्दर्भकाे समेत गम्भीर चुनाैती हाे । त्यसैले ओली अभिव्यक्ति राष्ट्रिय चासाेकाे स्वाभाविक विषय हाे ।
ओलीका पछिल्लो अभिव्यक्ति र कदम एकप्रकारले सामाजिक फासिवादी बन्दै गएको पाइन्छ । पार्टीका रुपमा हेर्दा कम्युनिस्ट पार्टीको झण्डा र लाेगाे प्रयोग गररिहेका उनले मनमाेहन नेतृत्वको लाेककल्याकारी सरकारकाे भजन र जनताको बहुदलीय जनवादको राजनीतिक विचारकाे खास्टाे पनि ओढेकै छन् । तर नेतृत्वमा बसेर कार्यकर्ताकाे सिर्जनात्मक क्षमता, आलोचनात्मक चेत र साङ्गठनिक स्वतन्त्रता कुल्चने, क्रान्तिकारी पनलाई दबाउने, सत्ताका लागि जुनसुकै सम्झौता गर्ने, श्रमिक र किसानलाई सस्तो नारामा प्रयोग गर्ने तर ठूला पूँजीपति वा विदेशी शक्ति अनुकूल काम गर्ने जस्ता प्रवृत्ति नै उनको पहिचान बन्न थालेका छन् ।
कुनै पार्टीले समाजवादको नारा लगाउँछ तर सरकारमा गएपछि नीजीकिकरण, दलाल पुँजीवाद, ठेकेदारमुखी विकास आदिकाे पक्षपाेषण गर्छ र उनीहरूलाई अगाडि बढाउँछ भने त्यो सामाजिक फासिवाद चरित्र हो। नागरिक समानताको कुरा गर्छ तर व्यवहारमा दलित, आदिवासी, महिला, मधेसीहरूको वास्तविक हक सुनिश्चित गर्न सशक्त कदम चाल्दैन भने त्यो पनि सामाजिक फासिवाद हो। श्रमिक अधिकारको नारा दिने तर मजदूर आन्दोलन अवमूल्यन, दमन गर्ने प्रवृत्ति पनि सामाजिक फासिवादकाे विशेषता हाे ।
सामाजिक फासिवाद देख्दा प्रगतिशील जस्तो लाग्छ, तर वास्तवमा त्यो सत्तावादी, प्रतिक्रियावादी, जनविरोधी हुन्छ। जुन कुरा ओलीका कार्यशैलीमा बारम्बार दाेहाेरिरहेका छन् । ओलीले दिने नारा र व्यवहारबीच ठुलो खाडल देखापरिरहेका छन् । केबल इमानदार कार्यकर्ता र जनताको भावनालाई प्रयोग गरेर पार्टी हुँदै राज्यसत्ता पुग्ने र सधैं टिक्नका लागि आफ्नो दमनकारी रूप सुदृढ गर्ने काममा उनी तल्लीन छन् भन्ने पछिल्लो उदाहरण हाे अनेरास्ववियु महाधिवेशनमा अभिव्यक्त भएको विचार ।
अब प्रश्न याे छ कि के नेकपा (एमाले) का सबै नेता कार्यकर्ता अब मुख बाँधेर बस्लान ? १९३० को दशकमा जर्मनीको सामाजिक डेमोक्रेटिक पार्टी (SPD) का कार्यकर्ता झैँ बनेर कम्युनिस्ट आन्दोलनलाई बद्नाम गर्ने कार्यशैली बिरुद्ध उभिएलान वा पार्टी भित्र ओलीले विकसित गर्न खाेजेकाे एकेश्वरवादी दर्शनको अनुयायी “झाेले” नै बनेर बस्लान ? इतिहास बुझेका र जबजकाे मुल मर्मका पक्षमा उभिएर साच्चै “कम्युनिस्ट” कार्यकर्ता बन्ने शाहस जुटाउन सक्लान ! उनीहरूको आगामी दिनका भूमिकाले नै विश्व पूँजीवादलाई टाउकाे दुखाइ बनेको नेपालकाे वामपन्थी र कम्युनिस्ट आन्दोलनको भविष्य निर्धारण गर्नेछ । किनकि ठुलाे सङ्ख्याकाे विचलन र पलायन आफैमा क्रान्तिकारी आन्दोलन क्षयीकरणकाे कारक बन्दछ भने उनीहरुकाे सचेत विद्राेह क्रान्तिका गति अगाडि बढाउने साधन। कुन बाटाे राेज्ने ? अन्धभक्तकाे यात्रा कि आलोचनात्मक चेतसहितकाे क्रान्तिकारी याेद्धा बन्ने ? ओली चेतावनीलाई अस्वीकार गरेर आन्तरिक लाेकतन्त्रकाे रक्षा र एमाले पहिचानको पुनःस्थापना गर्नु पूर्वराष्ट्रपति विद्या भण्डारीसहितक नेता कार्यकर्ताकाे काँधमा इतिहासले सुम्पेको दायित्व बन्दै गएको छ । यसैले एउटा लाेकतान्त्रिक पार्टीकाे फाँसिवादीकरण राेक्ने वा वास्तवमै “झाेले” भएर जीवन व्यतीत गरि लाेकप्रिय वामपन्थी आन्दोलन तुहाउने कारक बन्ने बारेमा कार्यकर्ताकाे अगाडिको यात्राले निर्क्याैल गर्दै लानेछ ।
प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार १०:१६