३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

वीरगञ्जमा खानेपानीको समस्या चाँडै समाधान हुन्छः मन्त्री यादव

२६ जेठ, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाका ‘टेन्डर’ आह्वान गरिने बताउनुभएको छ ।

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आज वीरगञ्जको खानेपानी तथा ढल निकासको समस्या समाधान गर्ने सन्दर्भमा आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानी आयोजनाको निर्माण गर्न एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेन्डर आह्वान गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ आयोजनामध्ये, पहिलो चरणमा कम्तीमा ६ आयोजनाको तत्काल सुरुआत गर्ने गरी काम अघि बढाउँछौँ । यसका लागि सम्बद्ध सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।”

खानेपानी मन्त्रालय, वीरगञ्ज महानगरपालिकालगायत सरोकारवालाकोे साझा प्रयासले वीरगञ्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याइने मन्त्री यादवले बताउनुभयो । छलफलमा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई मीना श्रेष्ठ र ई रमाकान्त दुवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति : June 9, 2025 at 4:42 pm