२१ जेष्ठ २०८३, बिहिबार | Fri Jun 5 2026

थाइल्याण्डमा जारी महिला टी–२० क्रिकेटमा नेपालको लगातार दोस्रो जित

२९ पुस, काठमाडाैँ । थाइल्याण्डमा जारी महिला टी–२० स्मास–२०१९ क्रिकेट प्रतियोगितामा नेपालले मलेशियालाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो पटक जित हात पारेको छ ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेशियालाई छ विकेटले पराजित गर्दैै प्रतियोगितामा दोस्रो पटक हासिल गरेको हो । यसअघि हिजो शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गरेको मलेशियाले नेपाललाई ६२ रनको लक्ष्य दिएको थियो । बैसठ्ठी रनको विजय लक्ष्य बोकेर मैदानमा उत्रिएको नेपालले १६ दशमलव दुई ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो ।

नेपालका लागि रोमा थापाले सर्वाधिक २० रनको योगदान दिइन् । त्यस्तै सीता रानामगरले १६ तथा ममता चौधरीले अविजित नौ रन जोडिन् । मलेशियाको अना हमिजा र इनटान जामदहायु जाफरले एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेशियाले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर ६१ रनको योगफल बनाएकामा सोली टिजिनले १२ तथा युसिरिना यकोपले ११ रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्क जोड्न सकेनन् । उक्त खेलमा नेपालकी सरिता मगर एक्लैले ४ विकेट लिएकी थिइन् । नेपालले भोलि आफ्नो तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) सँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : January 13, 2019 at 7:31 pm