१० असार २०८३, बुधबार | Wed Jun 24 2026

चितवनको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण

११ जेठ, चितवन । जिल्लामा लगाइएको मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमा दैनिक चार-पाँचजना किसान फौजी कीराको समस्या लिएर आउने गरेका छन् ।

कार्यालयकी बागबानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार अहिले जिल्लाका हरेक क्षेत्रमा लगाइएका मकैमा अमेरिकन फौजी कीराको सङ्क्रमण देखिएको छ । उहाँले भन्नुभयो, “यहाँ हरेक समय मकै लगाइने हुँदा फौजी कीराको सङ्क्रमण नरोकिएको हो ।” मकैको साना तथा ठूला बिरुवामा यो समस्या देखिने गरेको उहाँले बताउनुभयो ।

जिल्लामा बाह्रै महिना मकै लगाउने गरिन्छ । “यहाँ कतै मकै पाकेको छभने कतै लगाउँदै गरेका छन् । यामअनुसारको मकै र बेमौसमी मकैखेती हुने हुँदा यसको कीराको आक्रमण बढेको हो”, चौहानले भन्नुभयो, “जमिन खाली नहुँदा पनि समस्या बढ्दै गएको हो ।” धानमा पनि फौजी कीरा देखिने भएकाले हरेक याममा मकैखेतीमा यसले आक्रमण गर्ने गरेको उहाँले बताउनुभयो ।

अमेरिकन फौजी कीरा पुतली वर्गको रात्रिचर कीरा हो । यसको लार्भाले बालीमा कोतरेर खान्छ र नोक्सान गर्दछ । मकैबाली मन पराउने यस कीराले मकै नपाए धान, गहुँ, कोदोलगायत बालीमा क्षति पुर्‍याउने बागबानी विकास अधिकृत चौहान जानकारी दिनुभयो । उहाँका अनुसार यस कीराको लार्भाले मकैको पात गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्‍याउने गर्छ । यसले कलिलो अवस्थाको मकैको गुभोमा असर गर्छ भने बिरुवा बढ्दै गएपछि पातमा प्वाल पार्ने र छियाछिया बनाउने गर्छ ।

चौहानले पुराना मकैका ठूटालाई आगो लगाएर जलाउन, मकै भाँचिसकेपछि खेतबारीलाई गहिरोसँग खनजोत गर्न, मकै उम्रेदेखि नियमित रूपमा खेतबारीको अवलोकन गरी कीरोका बारेमा बुझ्न र केही समय बारी खाली राख्न सुझाव दिनुभयो ।

उहाँले मकैलाई कोसेबालीसँग अन्तर बाली लगाउँदा सङ्क्रमण कम हुने, पासोबालीको रूपमा नेपियर घाँसको प्रयोग गर्न, कीराको सङ्क्रमण देखिएमा नीमजन्य विषादी प्रयोग गर्न पनि सुझाव दिनुभयो ।

प्रकाशित मिति : May 25, 2025 at 2:04 pm