७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड सङ्कलन

११ जेठ, पर्सा ।  नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बिमातर्फ रु दुई अर्ब १५ करोड ७६ लाख बिमा शुल्क सङ्कलन गरेको छ । सोही अवधिमा भने निर्जीवन बिमातर्फ जारी बिमा लेख सङ्ख्या भने रु दुई लाख ५९ हजार ४७५ रहेको छ ।

निर्जीवन बिमातर्फ सात हजार १२४ सङ्ख्याले रु एक अर्ब ६० करोड २६ लाख रकम दाबी भुक्तानी माग गरेका छन् । तर, कार्यालयले सो माग गरेकामध्ये पाँच हजार ५८५ जनालाई रु एक अर्ब आठ करोड ४३ करोड दाबी भुक्तानी गरेको जनाएको छ ।

नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको गुनासो गर्नुभयो । “हामीले बिमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ ।”

कार्यालयले चालु आवको नौ महिनामा जीवन बिमा शुल्कबापत रु ११ अर्ब १६ करोड ७९ लाख रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार छ सय ७० वटा जीवन बिमाको बिमालेख सङ्ख्या रहेको छ ।

जीवन बिमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा नौ दशमलव २४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बिमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट रु दुई अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ ।

कार्यालयले गत आवको वर्षभरिमा भने जीवन बिमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट रु दुई अर्ब ८७ करोड ७४ लाख रकम भुक्तानी गरेको थियो ।

प्रकाशित मिति : May 25, 2025 at 9:04 am