१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छः प्रकाशशरण महत

८ जेठ, तनहुँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य भएको बताउनुभएको छ ।

निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको आज बिहान निरीक्षण गरेपछि उहाँले मुलुकमा उपलब्ध अपार जलस्रोतको अधिकतम उपयोग गरेर राष्ट्रलाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्छ भन्नुभयो ।

ऊर्जाका माध्यमबाट औद्योगिक विकासका साथै बिजुली बेचेर देशलाई समृद्ध बनाउन सकिने तथा विद्युतीय वाहनको प्रयोगबाट पेट्रोलियम पदार्थको आयात पनि घटाउन सकिने भएकाले ऊर्जामा आत्मनिर्भर हुन सघाउने तनहुँ जलविद्युत् आयोजना निर्धारित समयमा पूरा हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

पार्टी प्रवक्तासमेत रहनु भएका नेता महतले आयोजनाको प्याकेज र विद्युत्गृहको निरीक्षण गर्नुभएको थियो । उहाँलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्म आयोजनामा भएका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

प्रकाशित मिति : May 22, 2025 at 11:18 am