११ असार २०८२, बुधबार | Wed Jun 25 2025

नेपाल राष्ट्र बैंकको गभर्नरमा कांग्रेस नेता विश्व पौडेल नियुक्त, ओली-देउवा सहमति अनुमोदन

६ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहमति अनुमोदन गर्दै सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा नेपाली कांग्रेसका नेता विश्व पौडेललाई नियुक्त गरेको छ ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त हुनुभएको नेपाली कांग्रेसका नेता विश्व पौडेल । 

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देउवा र ओलीको सहमति अनुमोदन गर्दै गभर्नरमा पौडेललाई नियुक्त गरेको हो । त्यसअघि औपचारिकताका लागि अर्थमन्त्रीको संयोजकत्वमा रहेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पौडेल, डेपुटी गभर्नर निलम ढुंगाना तिमल्सिना र दिनेश भट्टराईको नाम सिफारिस भएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारको प्रवक्तासमेत रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नरमा पौडेल नियुक्त गरेको जानकारी दिनुभयो । निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै चैत २५ गतेदेखि राष्ट्र बैंक नेतृत्वबिहीन रहेको थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा पौडेलको नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको सिफारिस समितिको पहिलो एवं अन्तिम बैठक ।

अमेरिकाबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको पौडेल यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष समेत भैसक्नुभएको छ । उहाँ गत निर्वाचनमा चितवन १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पौडेललाइ पराजित गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक ।

सुरूमा गभर्नर सिफारिस समितिमा रहनुभएको पौडेल राजीनामा दिएर अन्ततः आफैँ गभर्नर बन्नुभएको छ । पौडेलले नियुक्तिपछि प्रतिक्रिया दिँदै आफू नियामक निकायमा रहँदा स्वतन्त्र भएर काम गर्ने बताउनुभयो । गभर्नरमा पौडेलको नियुक्तिसँगै यसअघि महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ विभागको सदस्य रहेका कारण गभर्नरमा अयोग्य रहेको भन्दै रूवाबासी गर्ने नेपाली कांग्रेसका नेताहरूले एकै पटक जवाफ समेत पाएका छन ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १९:०३