१० असार २०८२, मंगलवार | Tue Jun 24 2025

सरकार गभर्नर नियुक्त गर्न नसकेर हायलकायल अवस्थामा छः सांसद चौधरी

५ जेठ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले सरकार गभर्नर नियुक्त गर्न नसकेर हायलकायल अवस्थामा रहेकाे बताउनुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा सहभागी हुँदै सांसद चौधरीले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले देशको आर्थिक सङ्कट समाधान गर्न, ऋणीहरूलाई राहत दिन, बैंकहरूको मनपरि रोक्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले तत्काल र प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयाे ।

सांसद चौधरीले राष्ट्र बैंकको गर्भनर नियुक्तिमा भइरहेको ढिलाइ नकारात्मक भएको टिप्पणी गर्नुभयो । “हाम्रो आर्थिक प्रणाली अहिले सङ्कटको सङ्घारमा उभिएको छ, तर यस्तो संवेदनशील घडीमा सरकार गभर्नर नियुक्त गर्नसम्म नसकेर हायलकायल अवस्थामा देखिएको छ”, उहाँले भन्नुभयो, “राष्ट्र बैंक ऐन २०५८ को दफा २५ ले बहालवाला गभर्नरको कार्यकाल समाप्त हुन एक महिनाअगावै नियुक्ति गर्नुपर्ने व्यवस्था छ । अब, यो ऐनको व्यवस्थाको धज्जी उडाएको कारबाही कसलाई गर्ने ?”

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार १३:४२