१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्ने सांसदहरूकाे माग

२८ वैशाख, काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दिगो विकासका लक्ष्य पूरा हुनेगरी बजेट व्यवस्था गरिनुपर्नेमा जोड दिनुभएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद डा नारायण खड्काले दिगो विकासका लक्ष्य पूरा गर्न सात वर्षमा रु २१ खर्ब बजेट आवश्यक पर्ने राष्ट्रिय योजना आयोगले जनाएकाले सोही अनुसार व्यवस्था गरिनुपर्ने माग गर्नुभयो ।

परराष्ट्र नीति प्रभावकारी कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने भन्दै उहाँले नीति तथा कार्यक्रममा समावेश भएका योजना सकारात्मक भए पनि कार्यान्वयनमा समस्या आउने गरेकाले अहिलेदेखि प्रभावकारी कार्यान्वयनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद महेश बर्तौलाले अनुसन्धानमा आधारित उच्च शिक्षासम्बन्धी नीति तथा कार्यक्रमले जोड दिएको बताउनुभयो । ‘कमाउँदै पढ्दै’ जस्ता कार्यक्रम सकारात्मक रहेका बताउँदै उहाँले कृषिसम्बन्धी प्रस्तुत गरिएका कार्यक्रमले कृषक र कृषि क्षेत्रमा उल्लेख्य परिवर्तन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद सन्तोष परियारले मात्रात्मकबाट गुणात्मक फड्को मार्ने किसिमले नीति तथा कार्यक्रम नआएको बताउनुभयो । जनताको मौलिक अधिकार कार्यान्वयन गर्न नीति तथा कार्यक्रम र बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले सोही अनुसार बजेट विनियोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : May 11, 2025 at 1:54 pm