एमाले नुवाकोटः पार्टीको नीति र निर्देशन समेत मान्दैनन् नेताहरू
२५ वैशाख, नुवाकोट । नेकपा (एमाले) नुवाकोटको नेतृत्व बिग्रेको घडीजस्तो भएको भन्दै नेता कार्यकर्ताहरू नै कानेखुशी गर्न थालेका छन । गाउँनगर अधिवेशनको समयमै नेतृत्वको असक्षमता प्रकट नभएको होइन । विस्तारै असक्षमता नंग्नतामा परिणत हुन पुगेको छ ।
नुवाकोटमा एमालेको विधान भन्दा बाहिर एउटा छुट्टै पद्धती बनिसकेको छ । यहाँ विधान र अन्तरपार्टी निर्देशन भन्दा बढी नेताहरूको निर्देशनको पालना हुन्छ । बिगतमा गाउँपालिकामा चुनाव लडेर पराजयको स्वाद समेत लिइसकेका एमाले बागमती प्रदेश कमिटीका एक सदस्यले दैनिकीसँग कुरा गर्दै भन्नुभयो, ‘भन्यो भने भन्याजस्तो हुन्छ हेर्नुस्, नेतृत्व चयनमा नीति मान्ने भन्दा पनि निर्देशन मान्नेहरूको खोजी हुन्छ । त्यस्तो पात्र नभेटिए अधिवेशनहरू नै महिनाैसम्म लम्बिन्छन पनि । ककनी, पञ्चकन्या, तादी लगायतका गाउँपालिका अधिवेशन त्यसको ज्वलन्त उदाहारण हो ।’

उहाँका अनुसार निर्वाचनमा टिकट खरिदबिक्री गर्ने र वर्षाैदेखि झण्डा बोकेर हिँडेका कार्यकर्ताको अपमान गर्नेमा एमाले नेताहरू नुवाकोटमा अहिले अंग्रपंक्तिमै छन । गत स्थानीय निर्वाचनमा एक गाउँपालिकाको अध्यक्षमा एमालेको तर्फबाट उम्मेदवार हुनुभएको अर्को एमाले नेताको पनि गुनासो उस्तै छ । दैनिकीसँग उहाँले भन्नुभयो, ‘टिकट एउटालाई दिने र भोट अर्कैलाई बेच्ने अचम्म पनि देखियो । इमान्दार कार्यकर्ताहरूको सबैभन्दा ठूलो पीडा भनेको त चुनावमा अर्को पार्टीका उम्मेदवारलाई भोट बेचेर पैसा कुम्ल्याउनेहरूलाई नेता मान्नु पर्ने रहेछ । झन सूर्यध्वजाबाहक उम्मेदवारलाई हराउन खुला मत माग्नेहरूलाई केन्द्रीय नेता मानेर उनीहरूकै प्रशिक्षण लिनुपर्दा पीडाबोध हुने रहेछ ।’
यो नुवाकोट एमालेको प्रवृतिको उदाहारण मात्र हो । २०८१ साल कार्तिक १० गते विदुर नगरपालिका वडा नम्बर २ को वडा कमिटीको अधिवेशन भव्य रूपमा सम्पन्न भयो । तर अहिलेसम्म निर्वाचित भएको कमिटीले सपथ खान पाएको छैन । अर्थात नेताहरूको स्वार्थको शिकार वडा कमिटी बन्न पुगेको छ ।
बाजागाजसहित नेताहरू समेत धुमधामसँग नाचेर, चर्को चर्को स्वरमा भाषण गरेर वडा अधिवेशनबाट सहमतिमा नेतृत्व चयन भएको थियो । तर सात महिना पूरा हुँदा पनि वडा कमिटीले सपथ खान पाएको छैन । दामोदर नेपालको अध्यक्षतामा वडा कमिटीको नयाँ नेतृत्व चयन भएको थियो । अध्यक्ष मण्डलको सर्वसम्मत निर्णयले कमिटीको घोषणा भएको थियो । अध्यक्षमण्डलका सबैले हस्ताक्षर गरेको माइन्युटमा दामोदर नेपाल र बसन्तमान डंगोलले अध्यक्षमा दाबी गरेको र नेपाललाई अध्यक्षको जिम्मेवारी दिएर ढंगोललाई माथिल्लो कमिटीमा जिम्मेवारी दिनका लागि सिफारिस गर्ने निर्णय गरेको उल्लेख छ । उक्त निर्णयमा एमाले बागमती प्रदेश कमिटी सदस्य एवं विदुर नगरकमिटी इन्चार्ज प्रल्हाद प्याकुरेल जो अध्यक्षमण्डलको अध्यक्ष समेत हुनुहुन्थ्यो, उहाँसहित तत्कालीन नगरकमिटीका अध्यक्ष एवं अध्यक्ष मण्डलका सदस्य अनुजकुमार श्रेष्ठ, सबु मिजार, गीता तिमल्सिना र दीपक कायस्थले हस्ताक्षर गर्नुभएको छ ।
सोही दिन विदुर वडा नम्बर ४ मा पनि सोही पक्रियाबाट वडा कमिटीको अधिवेशन भएको थियो । एमाले नुवाकोटका सचिव शिव चित्रकारले जिल्लाका ८८ वटै वडामा अध्यक्षमण्डलको सर्वसम्मत निर्णयबाट अधिवेशन भएको जानकारी दिँदै विदुर २ को हकमा पनि अध्यक्षमण्डलको निर्णय र माथिल्लो कमिटीको निर्देशन मान्नुपर्ने बताउनुभयो ।

अध्यक्षमण्डलको अध्यक्ष रहनुभएको प्याकुरेल पनि वडा कमिटीको नेतृत्वलाई सपथ गराएर काम गर्न दिन अब ढिला गर्ननहुने बताउनुहुन्छ । तर विदुर नगरकमिटीका अध्यक्ष सञ्जिबहादुर श्रेष्ठले भने नयाँ अधिवेशन गराएर नयाँ नेतृत्व चयन गराउने अभिप्रायले सपथ हुन रोकिरहनुभएको छ ।
यही वैशाख १८ गते एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले अध्यक्षमण्डलका अध्यक्षलाई पत्र लेखेर सपथ गराइ पक्रिया अघि बढाउन निर्देशन दिनुभयो । तर वैशाख २२ मा फेरि नगर कमिटीका अध्यक्ष सञ्जिवबहादुर श्रेष्ठले जिल्ला अध्यक्ष मैनालीलाई पत्र लेख्दै निर्णय पुनरावलोकन गर्न अनुरोध गर्नुभएको छ । उहाँले वडा अधिवेशनको जिम्मा नगरकमिटीले प्राप्त गरे निष्पक्ष ढंगबाट गर्ने दाबी समेत पत्रमै पेश गर्नुभएको छ । सञ्जिजको पत्रमा माथिल्लो कमिटीको निर्देशन र अध्यक्षमण्डलको निर्णय दुबै नमान्ने अायश देखिन्छ ।
एमाले केन्द्रीय सदस्य एवं नुवाकोट इन्चार्ज केशवराज पाण्डेले कात्तिक १० गते बाजागाजाको राममरिताको बीचमा वडा अधिवेशनको उद्घाटन गर्नुभएको थियो । तर सात महिना पूरा हुँदा पनि एउटा वडा कमिटीको सपथ गराउन सक्नुभएको छैन् ।

विदुरको भूगोलबाट जिल्ला कमिटीमा निर्वाचित एक जना नेताले भने अध्यक्षमण्डलले सर्वसम्मत गरेको निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरेर नगरकमिटी अध्यक्ष श्रेष्ठले एमालेको स्थापित मान्यता र बिधिको समेत उलंघन गरेको बताउनुभएको छ । उहाँले नगर अधिवेशनमा दामोदर नेपालले श्रेष्ठका प्रतिस्पर्धी अनुजकुमार श्रेष्ठको पक्षमा खुलेर लागेका कारण त्यसैको प्रतिशोध लिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरअधिवेशनमा कतिपय केन्द्रीय नेताहरूले घोषित रूपमा एउटा टिमलाई समर्थन दिएर अर्कै टिमका लागि मत मागेर आफैँलाई हराएका थिए । अहिले उहाँहरूले भनेको, पार्टीको नीति र निर्देशन समेत नमान्ने नेतृत्व देखेपछि बल्ल पश्चाताप गर्दैहुनुहन्छ ।’
बिग्रेको घडीको जस्तो नेतृत्व
एमाले नुवाकोटको नेतृत्व बिग्रेको घडी जस्तो भएको भन्दै नेता कार्यकर्ताले नै आलोचना गरिरहेका छन । कतिपय गतिबधिले नेतृत्व बिग्रेको घडी भन्दा पनि फरक परिस्थितिमा पुगेको पनि देखिन्छ । वडा अधिवेशनको सात महिनासम्म सपथ गराउन नसक्नु यसैको ज्वतन्त उदहारण हो ।
अहिले अनेरास्ववियु पनि दुई वटा भएको । एउटाको नेतृत्व अनिश प्याकुरेलले गरिरहनुभएको छ भने अर्कोको नेतृत्व फैसल दिनले गरिरहनुभएको छ । जिल्लाका नेताहरू नै बसेर अधिवेशनमा सहमति गरेर गरेको माइन्युटको निर्णय नमान्दा अनेरास्ववियुमा दुई अध्यक्ष भएको हो ।

केही दिनअघि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि बजेट माग्न एमाले नुवाकोटको टोली सिंहदरबार छिर्यो । अर्बौको परियोजना माग गरिएको पत्र र मन्त्रीसँग कुम जोडेर कैद गरिएका तस्बिर सार्वजनिक भए । तर बजेट पहिल्यै लक भैसकेको चाल नै पाएनन् । यद्यपी सामाजिक सञ्जलमा व्यापक योजना माग गरिएको र त्यसले नुवाकोटमा व्यापक परिवर्तन ल्याउने भन्दै मन्त्रीसँग तस्बिर कैद गर्न पुगेका नेताहरूलाई बधाईको ओइरो नै लाग्यो ।
यस्तै तादी गाउँकमिटीको अधिवेशन उद्घाटन गरेर बन्द सत्र गुरू गरेको केही महिनापछि बल्ल निर्वाचनका लागि नेताहरूले चासो दिँदैछन । सदरमुकाम र गाउँमा हुने कार्यक्रममा को अतिथि र प्रमुख अतिथि बन्ने भनेर हानाथाप गर्ने र बिहान काठमाडौँबाट आएर बेलुका कतिखेर काठमाडौँ पुग्ने भन्नेमै नेताहरूको दैनिकी रूमलिएको छ ।
प्रकाशित मिति : 11:47









