यो सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको छः सांसद शाही
२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले अहिलेको सरकारले भ्रष्टाचार र अवैध क्रियाकलापलाई प्रश्रय दिइरहेको आरोप लगाउनुभयो । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शाहीले यस्तो आरोप लगाउनुभएको हो ।
“यो सरकार जनताको सरकार होइन । यसले जनताको पक्षमा काम गर्दैन । बिचौलिया, तस्करको हितमा काम गर्छ”, उहाँले भन्नुभयो, “देश सङ्कटको भुमरीतर्फ गइरहेको छ । जताततै अस्तव्यस्तता छ । नागरिकलाई सेवा प्रवाहमा समस्या छ । दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले ती समस्या समाधान गर्ने तत्परता देखाएको छैन ।” अहिले लोकतान्त्रिक व्यवस्थामाथि सङ्कट आउनु विद्यमानको सरकारको कार्यशैलीको उजप रहेको उहाँले टिप्पणीसमेत गर्नुभयो ।
त्यस्तै, सत्तापक्ष सांसदहरूले आफ्नो कमजोरी र असक्षमता लुकाउन प्रतिपक्षलाई गाली गर्न थालेको धारणा पनि सांसद शाहीको छ । “सरकारको व्यवहारबाट भ्रष्टाचारी र तस्करीहरू खुसी भएका छन् । समाजवादउन्मुख अर्थ व्यवस्था कतातर्फको यात्रा हो ?”, संसद्मा प्रश्न गर्दै उहाँले भन्नुभयो । शिक्षक आन्दोलन, निजामती कर्मचारी, चिकित्सक, लघुवित्त तथा सहकारी पीडितलगायत आन्दोलनरत पक्षका विषयमा सरकार गम्भीर नरहेको पनि सांसद शाहीको भनाइ छ ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ र रिहाइले मुलुकको न्यायिक क्षेत्र र सुरक्षा क्षेत्रमाथि गम्भीर प्रश्न देखिएको बताउनुभयो । राज्यको कर्णाली क्षेत्रप्रति हेर्ने दृष्टिकोण हेपाहा प्रवृत्तिको रहेको गुनासो पनि उहाँको छ ।
प्रकाशित मिति : 14:08









