२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको छः सूर्य थापा

२२ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्यबहादुर थापा क्षेत्रीले सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको  बताउनुभएकाे छ । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले नेपालमा छोटो–छोटो समयमा सरकार परिवर्तन हुने र राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक तथा सामाजिक विकास कमजोर भएको उल्लेख गर्नुहुँदै अहिलेको सरकार ढल्दैछ भनेर सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूबाट दुष्प्रचार भइरहेको टिप्पणी गर्नुभयो ।

“अहिले सङ्ख्यात्मक हिसाबले बलियो सरकार छ । आलोपालो गर्ने भनेर सातबुँदे सहमति भएर सरकार सञ्चालन भइरहेको छ । तर सरकार विरूद्धका चलखेल जारी छन् । सरकार आजभोलि नै ढल्छ भन्ने दुष्प्रचार भइरहेको छ”, उहाँले भन्नुभयो । नेपाली कांग्रेस र एमालेबीच आलोपालो सरकार सञ्चालनका लागि भएको सहमतिअनुसार अघि बढ्न पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिपक्ष दलले सरकार ढल्ने भनेर गरिरहेको प्रचारमा सत्यता नरहेको उल्लेख गर्नुहुँदै सांसद थापाले सत्तापक्ष दल नेपाली कांग्रेसका केही सांसदहरूले पनि गठबन्धन विरोधी धारणा सार्वजनिक रूपमा राखिरहेको आरोप लगाउनुभयो । आफ्नो दलभित्रका असन्तुष्टिलाई देखाएर सरकार कमजोर बनाउनुभन्दा त्यसलाई महाधिवेशनमार्फत सल्टाउनुपर्ने पनि सांसद थापाको भनाइ थियो ।

त्यस्तै, अघिल्लो सरकारले भ्रष्टाचार र तस्करीलाई प्रसय दिएको आरोप पनि उहाँको छ । विक्रम संवत् २००७ देखि हालसम्म निकै कम सरकारले मात्रै तीन वर्षभन्दा बढी सरकार चलाएको र पछिल्लो ७५ वर्षमा कुनै पनि सरकारले पाँच वर्ष पूरा अवधि काम गर्न नपाउनु लज्जाको विषय रहेको सांसद थापाको भनाइ छ । तीनकुने घटनाको जिम्मेवारी राष्ट्रिय प्रजातन्त्र पार्टीले लिनुपर्ने पनि उहाँको भनाइ छ ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जामन्त्रीको प्रस्तावमा हटेको उल्लेख गर्नुहुँदै सांसद थापाले त्यसको दोष प्रधानमन्त्री थोपर्न नहुने बताउनुभयो । यस विषयमा के भएको हो भनेर नेपाली कांग्रेसका सांसदहरूले आफ्ना सभापतिलाई सोध्नुपर्ने पनि सांसद क्षेत्रीले बताउनुभयो ।

प्रकाशित मिति : 13:55