२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

‘यूथ सेलिब्रेशन’मा देशभरबाट १ लाख युवाले सहभागिता जनाउँछनः अध्यक्ष थेबे

१० वैशाख, काठमाडौँ । नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेशन’ विशेष कार्यक्रमको तयारी पुरा भएको जनाएको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ । भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको ४० वर्ष मुनिका युवा परिचालनको जिम्मा पाउनु भएका युवा संघका अध्यक्ष क्षितिज थेबेले जानकारी दिनुभयो ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कार्यक्रममा सहभागी हुन देश भरका युवाहरू आउने क्रम सुरु भइसकेको बताउनुभयो । ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ, यो दिनलाई युवाले लोकतन्त्रको उत्सवको रूपमा मनाउने छन्’, उहाँले भन्नुभयो । कार्यक्रममा एमालेका ४० वर्ष मुनिका युवाहरूको ऐतिहासिक सहभागिता हुने उहाँले जानकारी दिनुभयो । भोलिको कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।

भोलिको दिन युवाले देश बनाउने सङ्कल्प गर्ने दिन भएको पनि उहाँले बताउनुभयो । यो देश युवाले नै बनाउने र बनाउनु पर्ने उहाँले धारणा राख्नुभयो । कार्यक्रमको सबै तयारी पुरा भएको बताउँदै उहाँले भोलिको कार्यक्रम नियमित कार्यक्रम भन्दा फरक खालको कार्यक्रम हुने जानकारी दिनुभयो । ‘भोलिको कार्यक्रममा हामीले नयाँ पन दिने छौँ, कार्यक्रम पूर्णरुपमा युवामैत्री हुने छ’, थेबेले भन्नुभयो ।

भोलिको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नु हुने छ । बाँकी सबै वक्ताहरू युवा हुने छन् । विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ । कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ ।

प्रकाशित मिति : 20:12