४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अध्यक्ष ढकालको अनुरोध

७ वैशाख, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरुमा लगानीगरी राम्रो प्रतिफल लिन सकिने बताउनुभयो ।

“नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना र विरोध गर्ने गरेको पाइन्छ । विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ”, उहाँले भन्नुभयो । उहाँले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्तामा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको बताउनुभयो ।

त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, युएइका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : April 20, 2025 at 5:03 pm