मृतकको नाममा वृद्ध भत्ताको हिनामिना गर्ने गाविस सचिवसहित ३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
२२ पुस, काठमाडौँ । मृत्यु भइसकेका व्यक्तिको नागरिकता पेश गरी सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) को हिनामिना गर्ने ३ जना कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले भोजपुर जिल्लाको साविक दुम्माना गाउँ विकास समिति (हाल आमेचोक गाउँपालिका) का ३ जना कर्मचारीविरुद्ध आइतवार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले साविक दुम्माना गाविसका तत्कालीन सचिव रेवती कुमार कोइराला तथा मनिष चौधरी र तत्कालीन कार्यालय सहयोगी टेकबहादुर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।
अख्तियारले तत्कालीन गाविस सचिव रेवती कुमार कोइरालाविरुद्ध ८३ हजार बिगो र जरिवाना माग दावी गर्दै भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यस्तै तत्कालीन गाविस सचिव मनिष चौधरीविरुद्ध २ लाख ५० हजार र कार्यालय सहयोगी टेक बहादुर श्रेष्ठविरुद्ध २ लाख २७ हजार रुपैयाँ बिगो तथा जरिवाना माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले मृत्यु भइसकेका तथा साविकको गाविसबाट बसाइ सरेर अन्य ठाउँमा गएका व्यक्तिको नागरिकता पेश गरेर सामाजिक सुरक्षा भत्तावापतको रकमको दुरुपयोग गरेका अख्तियारको छानबिनबाट पत्ता लागेको छ ।
प्रकाशित मिति : 16:39







