२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

कञ्चनपुरको बेदकोटमा गाई र गोरुको नाममा ५० लाख स्वाहा

२१ पुस, महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाको हात्तीथलामा व्यवस्थापन गरिएका गाई गोरुका हाडखोर छरपस्ष्ट भएका छन् । गत वर्ष काञ्जी हाउसमा राखिएका एक हजार गाई गोरुमध्ये खान नपाएर डेढ सय बाहेकका सबै मरेका छन् । अहिले मरेका गाई गोरुका हाडखोर काञ्जी हाउस नजिक जङ्गल क्षेत्रमा छरपस्ष्ट छन् ।

हात्तीथलाको बैजनाथ मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बेदकोट नगरपालिकाले काञ्जी हाउस निर्माण गरी गाई गोरु व्यवस्थापन गरिएको थियो । गाई गोर व्यवस्थाका लागि वन क्षेत्रमा तारबार गरिएको छ । त्यहाँ राखिएका गाई गोरुपानी र घाँस नपाएर केही दिनपछि मर्न सुरु गरेको स्थानीय बताउँछन् । बेदकोट नगरपालिकामा काञ्जी हाउस निर्माण, गाई गोरुका लागि आहारा, पानी लगायतमा ५० लाख रुपैँया खर्च गरिएको छ । नगरपालिकाको पहिलो नगर सभाबाट चौपाया व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको थियो ।

अहिले काञ्जीमा हाउसका केही चौपाया सहित मरेका गाई गोरुका हाडखोरको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस अघि गत वर्ष यो तस्बिर बाहिर आएपछि बेदकोट नगरपालिकाले पत्रकार सम्मेलन गरी प्रष्टीकरण दिएको थियो । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बाल सन्त मोहनशरण देवाचार्यले गाईको हाडखोर देखेपछि काञ्जी हाउसमा क्षेत्र पुगेका थिए । काञ्जी हाउसका कर्मचारीले जगद्गुरुको मानमर्दन गरी गेटभित्र पस्न रोकेका थिए ।

जगद्गुरुलाई रोकेको खबरले देशभर फैलिएपछि नगरपालिकाले पत्रकार सम्मेलन गरी जगद्गुरको मानमर्दन नगरिएको प्रष्टीकरण दिएको थियो । गाई गोरु व्यवस्थापनका ठेकेदार कम्पनी मार्फत पूर्वाधार निर्माण गरिए पनि बचेको सबै रकम सत्तारुढ पार्टीका केही नेताको मिलेमतोमा खर्च गरिएको छ । बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दसित मिलेर बचेको रकम खर्च गरिएको थियो । ठेक्का गरी बचेको रकम मनपरी खर्च गरिएको कार्यालयका कर्मचारीहरु बताउँछन् । काञ्जी हाउस निर्माणको ठेक्का समेत आपशी मिलेमतोमा दिइएको आशंका गरिएको छ ।

सामाजिक सञ्जालमा गाई गोरुका हड्डी सार्वजनिक भएपछि बेदकोट नगरपालिकाका मेयरका प्रत्यासी नेकपाका नेता रामचन्द्र रेग्मीले त्यसको बचाउ गर्दै काञ्जी हाउसमा राखिएका गाई गोरु दार्चुला सहितका पहाडी जिल्ला पठाएको सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा हाडखोरको तस्बिर बाहिर आएपछि रेग्मीले दिएको प्रष्टीकरणलाई स्थानीय स्तरमा गम्भीर रुपमा लिइएको छ । साविक नेकपा एमाले सम्बद्ध युवा संघ नेपालका केन्द्रीय सदस्य रेग्मी एमाले जिल्ला कमिटी सदस्य थिए ।

उनी बेदकोट नगरपालिकाका नगर प्रमुख चन्दका सहोदर दाई देब बहादुर चन्दको निर्माण कम्पनीका साझेदार भन्ने चर्चा बाहिर आएको छ । ग्रिन होटलका सञ्चालक रेग्मीका दाई आफैैं निर्माण व्यवसायी हुन् । बेदकोट नगरपालिकाको पूर्व पश्चिम राजमार्गमा पर्ने सुडा, लालपुर, दैजी बजार लगायतका क्षेत्रमा सबैभन्दा ठूलो छाडा चौपायाको समस्या थियो । चौपाया समस्या समाधानका लागि हात्तीथलास्थि वन क्षेत्रमा व्यवस्थापन गरिएको हो । वन क्षेत्रमा त्यस अघि समूहले गिद्ध संरक्षण केन्द्र बनाएको थियो ।

प्रकाशित मिति : 12:49