७ असार २०८३, आइतबार | Sun Jun 21 2026

देश विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको छः प्रधानमन्त्री ओली

१४ चैत, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि सिङ्गै समाज अगाडि बढाउन राज्यले प्रयास गरिरहेको बताउनुभएको छ ।

महिला उद्यमी महासङ्घ नेपालको आयोजनामा आजबाट ललितपुरमा सुरु भएको आठौँ अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक कुरामा नअल्झिएर देश विकासमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“देशलाई पछि फर्काउन एउटा पक्ष लागिरहेको छ । दशपन्ध्र हजारको जुलुस निस्कँदैमा उत्पात केही हुँदैन, अहिले ९७ प्रतिशत जनताको घरमा विद्युत् पुगेको छ, विद्युत् उत्पादन बढाउने काममा अघि बढेका छौँ,” उहाँले भन्नुभयो ।

युवा पुस्ताले सूचना प्रविधिको क्षेत्रमा राम्रो काम गरिरहेका भनी खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ,“आजको समय कम्प्युटरको समय हो, एआई प्रविधिको समय हो, महिलाहरुले पनि धेरै काम गर्नुभएको छ, आजको मेला महिलामा पनि आमाहरुको मेला हो, अब छोरी पुस्ताले पनि उद्यमशीलतामा ध्यान दिनुपर्छ, दिदीबहिनीका प्रयासलाई म धन्यवाद भन्न चाहान्छु ।”

जकडिएर रहेका केही सामन्ती सोच र व्यवहारका कारण देश अगाडि बढ्न नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “बाह्य रुपमा कायम रहेको उपनिवेश, देशभित्रै रहेको सामन्ती प्रथा, वर्णाश्रम व्यवस्थाले दबाइएको परिस्थितिका कारण हाम्रो समाज अगाडि बढ्न सकेन, महिलालाई शिक्षादीक्षा दिनुहुँदैन भन्ने सामन्ती सोच थियोे, खुसी हुन पनि नपाइने समाज थियोे, महिलालाई पछाडि पारेपछि देशको विकास नहुने नै भयो ।”

प्रधानमन्त्री ओलीले सो अवसरमा मानव ओसारपसार तथा बेचबिखनविरुद्ध अविच्छिन्न रुपमा काम गर्दै आएको संस्था माइती नेपालका अध्यक्ष अनुराधा कोइराला र उद्यमशीलता क्षेत्रमा योगदान गर्नुभएकोमा दाङ घोराहीका प्रेम कुमारी पुनलाई सम्मान गर्नुभयो ।

महिला उद्यमी महासङ्घ नेपालको अध्यक्ष शोभा ज्ञवालीले देशका ७७ जिल्लामध्ये ७२ जिल्लामा महासङ्घ मातहातको जिल्ला सङ्घ गठन भइसकेको जानकारी गराउनुभयो । उहाँले महासङ्घले महिला उद्यमीहरुको सवाल र सरोकार सुनिश्चितताका पक्षमा वकालत गर्दै आएको बताउनुभयो ।

ललितपुरको हेरिटेज गार्डेनमा आजबाट सुरु भएको व्यापार मेला यही चैत १८ गतेसम्म सञ्चालन हुने जानकारी गराउँदै अध्यक्ष ज्ञवालीले यस अवधिमा रु दुई करोड २५ लाखभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको बताउनुभयो ।

प्रकाशित मिति : March 27, 2025 at 2:14 pm