नुवाकोट घ्याङ्फेदी दुर्घटनाका मृतकका परिवारलाई प्रदेश सरकारले १ लाख राहत दिने
२० पुस, काठमाडाैँ । गत मंसिर २८ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको घ्याङ्फेदीमा भएको मिनिट्रक दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश ३ को सरकारले राहत दिने भएको छ । उपसभामुख राधिका तामाङ र नुवाकोटका प्रदेश सांसदद्धय केशव पाण्डे, बद्री मैनालीले मुख्यमन्त्री डोरमणि पाैडेलसँग भेटेरै मृतकको परिवारलाई राहत दिन अाग्रह गरेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रति परिवार १ लाख रूपैयाँको दरले राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिद् बैठकपछि प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यू भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १/१ लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिए ।
बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्यविधि पनि पारित गरेको छ । कार्यविधि अनुसार प्रदेशको भौगोलिक बनावट अनुरुप भैंसीपालन, सामूहिक खेती, गाइपालन, चौरी पालन र बोका बाख्रा पालनका कार्यविधि बनाइएको मन्त्री ढुंगेलले बताए । त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पेश गरेको स्थानिय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ संसोधन गर्ने निर्णय पनि गरेको छ । यसैगरी भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको साना कृषि सडक निर्माण, मर्मत तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा स्विकृत गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पुष्प व्यबसाय प्रबद्र्धन कार्यक्रम कार्यान्वयन, २०७५ को मस्यौदा, बिदेशबाट ज्ञान हासिल गरेका तथा शिक्षित युवा लक्षित व्यबसायीक कृषि कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, उच्च मूल्यका कृषि उपजहरुको प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, सहकारीमा आधारीत सामुहिक खेती कार्यक्रम सञ्चालन गर्ने समेत निर्णय गरेको छ । यस्तै भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले नै पेश गरेको कृषि चौरी प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०५ को मस्यौदा, भैसी सम्बद्ध व्यबसाय प्रबद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा स्विकृत गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
प्रकाशित मिति : 09:27









