ग्रीन डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, लाभांश वितरण र हकप्रद जारी गर्ने मुख्य प्रस्ताव
६ चैत, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बोनस शेयर वितरणपश्चात हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते १२ औं साधारण सभा बोलाएको हो । सभा बाग्लुङ नगरपालिकामा रहेको होटल पिस प्यालेसमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस सेयर, सोको कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थालाई एक आपसमा गाभ्नेरगाभिने वा प्राप्तिका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यसको अर्थ चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार ०९:५९