गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा वरिष्ठ पत्रकार गोपाल खनाल नियुक्त
१९ पुस, काठमाडाैँ । गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा वरिष्ठ पत्रकार गोपाल खनाल नियुक्त भएका छन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुस महिनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी दिए । पाँचथरको थाक्लेमा जन्मिएका खनाल परराष्ट्र र वैदेशिक मामिलाका जानकार हुन ।
पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका रुपमा नियुक्त भएका उनले ‘भू–राजनीति’ पुस्तकसमेत लेखेका छन । ‘सगरमाथा दैनिक’ पत्रिकाबाट पत्रकारिता आरम्भ गरेका खनालले रेडियो नेपाल, कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा समेत काम गरिसकेका छन ।

अङ्ग्रेजी, पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनी त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गरिरहेका छन । नवनियुक्त सल्लाहकार सम्पादक खनालले गोरखापत्रलाई थप पठनीय र यसको गौरवपूर्ण इतिहासलाई थप अझ मजबुद बनाउन पहल गरिने बताएका छन ।
सञ्चार क्षेत्रमा ओली सरकारले गरेको यो नियुक्तिलाई सबैले प्रशंशा गरेका छन । सत्तारूढ दलको भ्रातृ संगठन प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतले गोरखापत्रमा सही मान्छेको छनोट भएको भन्दै प्रधानमन्त्रीलाई धन्यवाद समेत दिएका छन ।
प्रकाशित मिति : 21:44









