७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सरकारका गतिविधि जनतामुखी हुनुपर्छः सांसद अर्याल

४ चैत, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले सरकारका गतिविधि जनतामुखी हुनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद अर्यालले सरकारको गतिविधि जनतामुखी हुन नसक्दा पछिल्लो समयमा जनतामा निराशा छाएको भन्दै यसप्रति राज्य सचेत हुनुपर्ने बताउनुभयो । विसं २०६२/६३ को आन्दोलनपछि सबैको अधिकार सम्बोधन गर्ने गरी समझदारीमा नै संविधान बनाए पनि प्रभावकारी कार्यन्वयनमा चुनौती रहेको उहाँको भनाइ थियो ।

“सरकारमा जाने बेलामा वाचा गर्ने तर सत्तामा पुगेपछि हामी सबैले बिर्सने गरेका छाैँ । जे उद्देश्यका साथ अनआन्दोलन गरेका थियाैँ । ती उद्देश्य कार्यन्वयन हुन नसक्दा जनतामा निराशा उत्पन्न भएको छ,” सांसद अर्याले भन्नुभयो, “शान्ति प्रक्रियामा आएपछि ती वाचा पूरा गर्न संविधान बनायौँ । राज्यको मूलप्रवाहबाट कोही टाढा हुन नपरोस् भन्ने उद्देश्य थियो । सत्तामा जान लालायित हुने प्रवृत्ति बढ्दा जनता निराश छन् ।” उहाँले संविधान कार्यान्वयन भए या नभएको विषयमा अव मूल्याङ्कन गर्नुपर्ने र कहाँ चुकिरहेका छौँ भन्ने विषयमा ख्याल गर्नुपर्ने बेला आएको बताउनुभयो ।

“गणतन्त्र कार्यान्वयनबारे सचेत हुन सकेनौँ । हामीले जनताको विश्वास गुमाइरहेका छौँ,” सांसद अर्यालले भन्नुभयो, “तर राजतन्त्र विकल्प होइन ।” कुनै पनि उच्च पदस्थ अधिकारी नियुक्ति गर्दा पनि आफ्नो स्वार्थ अनुसारको काम हुने या नहुने हरिने गरेको उल्लेख गर्दै उहाँले अब क्षमता र कुशलताको आधारमा नियुक्ति हुनुपर्ने उहाँको धारणा थियो । सत्तामुखी बन्न छाडेर आम जनताले कसरी सुख पाउँछ भन्ने कुरामा ध्यान दिन उहाँले सरकारलाई सुझाव दिनुभयो । संविधानले दिएका हक अधिकारको अझै समीक्षा गर्नुपर्ने सांसद अर्यालको भनाइ थियो ।

प्रकाशित मिति : March 17, 2025 at 4:28 pm