५ चैत्र २०८१, मंगलवार | Tue Mar 18 2025

२ अर्ब लगानीमा आइएमई ग्रुपले सञ्चालनमा ल्यायो नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज

२२ फागुन, काठमाडाैँ । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो ।

उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गर्नु भयो । २ अर्व रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहीबार १४:०५