अर्थ मन्त्रालयले भन्याे, नेपालमा यूएसएडको अनुदान सन् १९५१ देखि आइरहेको थियो
१२ फागुन, काठमाडौँ । अर्थ मन्त्रालयले नेपालमा यूएसएडको अनुदान सन् १९५१ देखि नै आइरहेको बताएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेर उक्त समउदेखि नै निरन्तर रूपमा यूएसएडको अनुदान सहायतामार्फत् विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको जनाएको छ ।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत केही दिनदेखि अमेरिकी सहयोग नियोग (यूएसएड)बाट सञ्चालित कार्यक्रमहरूको सम्बन्धमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा आएका समाचार र टिप्पणीप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ’, ‘नेपालको आर्थिक, सामाजिक तथा पूर्वाधार क्षेत्रको विकासमा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाले विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । अमेरिकी सहयोग नियोग (यूएसएड) बाट नेपालमा सन् १९५१ देखि निरन्तर रूपमा अनुदान सहायतामार्फत् विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ ।’
अमेरिकी राष्ट्रपतिबाट २० जनवरी २०२५ मा जारी कार्यकारी आदेशबमोजिम नेपाल सरकारको बजेट प्रणालीमार्फत् सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, कृषि र तथ्यांकसँग सम्बन्धित चारवटा कार्यक्रम ९० दिनका लागि रोकिएको जानकारी प्राप्त पनि मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम गरी तीनवटा कार्यक्रम डिजाइनको क्रममा रहेकोमा उक्त आदेशबाट यी कार्यक्रम समेत रोकिएको मन्त्रालयले जनाएको छ ।
‘डिजाइनको क्रममा रहेका उल्लेखित कार्यक्रमहरूको लागि सम्झौता नभइसकेको हुँदा कुनै सहयोग प्राप्त नभएको व्यहोरा जानकारी गराइन्छ’, मन्त्रालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार १५:१८