अमेरिकी अनुदान रोकिएपछि कतिपयको रूवाबासी, एमाले महासचिवको रोचक प्रतिक्रिया
९ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पको कार्यकारी आदेशका कारण नेपालको अनुदान रोकिएपछि वैदेशिक अनुदानका बारेमा नेपाली समूदाय बहसमा उत्रिएको छ । आफ्नै भाषा र शैलीमा केहीबाहेकले अनुदान रोकिँदा खुशी प्रकट गरेका छन भने कतिपयले घुर्की र धम्कीपूर्ण टिप्पणीसहित टम्पको आदेश अस्थायी भएको र ९० दिनपछि त्यही अनुदानमा रमाउन पाउने बताइरहेका छन ।
ट्रम्पको आदेशले अमेरिकी अनुदान सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पैसा रोकिदैन भन्दै पण्डित बनेर व्याख्या गरिरहेकाहरू एमसीसीको अनुदान रोकिएको पत्रपछि निकै स्तब्ध बनेका छन । कतिपयले त अमेरिकी अनुदान रोकिदाँ तारे होटलको व्यापारमा गिरावट आएको भन्दै प्रोपोगाण्डा समेत चलाउन थालेका छन ।

एक साता अघि एमसीसीले अर्थ मन्त्रालयलाई पत्र नै लेखेर अनुदान रोकिएको जानकारी दिएपछि संसदबाट व्याख्यात्मक टिप्प्णीसहित सम्झौता पारित गराउन रात दिन लागेका नेताहरू अलि बढी प्रतिक्रिया जनाइरहेका छन । जनस्तरबाट तिमीहरूको व्याख्यात्मक टिप्पणी समेत ट्रम्पको एउटै आदेशले रोकियो भन्दै सञ्जालमा खिसटियुरी चल्नथालेपछि पार्टीका नेताहरू पनि यस विषयको बहसमा आफ्नो धारणा राखेर सहभागी हुन थालेका छन ।
यसैक्रममा शुक्रबार बिहान सत्तारूढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पनि प्रतिक्रिया जनाउनुभएको छ । उहाँले ट्रम्पले अनुदानहरूको कटौतीका सम्बन्धमा नेपालमाथि प्रयोग गरेको भाषा र शब्दहरूबारे नजरअन्दाज गर्दै आफ्नै शैलीमा हामी बनाउछौ हाम्रो देश नेपाल भनेर जुटौँ भन्ने अपिल गर्नुभएको छ ।
उहाँले फेसबुकमा टिप्पणी सार्वजनिक गर्दै भन्नुभएको छ, ‘विदेशी अनुदानका कार्यक्रमको झण्डै ७० प्रतिसत हिस्सा सम्वन्धित मुलुकमा फर्कने गरेको तथ्य विभिन्न अध्ययनले देखाएका छन् । त्यस्ता अनुदानलाई अमेरिकी राष्ट्रपतिले फ्रड भनेका हून भने त्यसको नैतिक दायित्व पनि ती मुलुकै होला नि । गरिवी माथिको अपमानवाट जोगिन आफ्नो देश आफै बनाउने अभियानमा जुटौ र भनौं -‘हामी बनाउछौ हाम्रो देश नेपाल ।’
यसैबीच भ्रष्टाचारविरूद्धको अभियन्ता भनेर कहलिनुभएको केदार खड्काले फेसबुक मार्फत अमेरिकी राष्ट्रपति ट्रम्प अब्राम लिंकनको ‘जनताद्वारा, जनताले, जनताका लागि’ भन्ने प्रजातन्त्रको वैश्विक परिभाषालाई मेटाउने अभियानमा लागेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘अब्राम लिंकनको ‘जनताद्वारा, जनताले, जनताका लागि’ भन्ने प्रजातन्त्रको वैश्विक परिभाषालाई मेटाएर डोनाल्ड ट्रम्प ‘ब्यापारीद्वारा, ब्यापारीले, ब्यापारीका लागि’ भन्ने बनियाँ सिद्धान्त ग्लोवल साउथ तिर निर्यात गर्न खोज्दैछन्, नेपालले यसलाई ‘Wakeup Call’ का रुपमा किन नलिने !’
प्रकाशित मिति : 12:36









