२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

पोखराको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई थियो प्रमुख अतिथिको निम्तो

३ फागुन, काठमाडाैँ । पोखरामा भएको  पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री  केपी शर्मा ओलीलाई  प्रमुख अतिथिको रूपमा निम्त्याएको खुलेको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य डा राजन भट्टराईले सामाजिक सञ्जाल मार्फत कार्यक्रम व्यवस्थापनमा गम्भीर प्रश्न उठाउँदै यसको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘आज पोखराको कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्रीलाई भनिएकोमा प्र म जाननसक्ने भएपछि उपप्रधानमन्त्री जानुभएको भन्ने बुझियो । यति गम्भिर कार्यक्रमको तयारीमा जुन तहको सावधानी अपनाउन पर्ने हो त्यसमा केही कमी भएको हो कि ?’

प्रधानमन्त्रीले नभ्याउनुभएका कारण उपप्रधानमन्त्री पाैडेल जानुभएको उहाँले बताउनुभएको छ । कार्यक्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भैरहेको छ । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उहाँले बताउनुभयो ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उहाँहरुको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना हुनुभएको र अहिले उपचार चलिरहेको बताउनुभयो ।

प्रकाशित मिति : 18:51