२६ बैशाख २०८३, शनिबार | Sun May 10 2026

ओली र देउवाले सोफा नजिक राखेर दिन खोजेको निकटताको सन्देश

२ फागुन, काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्रीको मुख्य सल्लाहकार विष्णु रिमाल सहभागी हुनुहुन्छ । यस्तै कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र गृहमन्त्री रमेश लेखक सहभागी हुनुहुन्छ ।

बैठकमा सरकार सञ्चालनका विषय, संसद्मा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीब्रतालगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिनुभयो ।  यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

सोफा र सम्बन्धको चर्चा

प्रधानमन्त्री केपी शर्मा ओली केही न केही गरेर निरन्तर चर्चामा हुनुहुन्छ । उहाँको भाषणदेखि कामसम्मको सबैठाउँमा चर्चा हुन्छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्रीले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सोफा र आफ्नो सोफाकोबीचको दूरी निकै कम गराउनुभएको छ ।

अघिल्लो पटक नेकपा नेतृत्वको सत्तमा रहँदा माधवकुमार नेपालले जहिल्यै कुर्सी र सोफाको नाममा असन्तुष्टि जनाएको र देखाएको व्यवहार नजिकबाट नियाल्नुभएको प्रधानमन्त्रीले शुक्रबारको सहित गर्दा दोस्रो पटक सभापति देउवाको सोफा र आफ्नो सोफा नजिक राखेर बैठक गर्नुभएकोछ ।

एमालेका कार्यकर्ताले ओली र देउवाको सोफा नजिक राखेर बसेको तस्बिर समाजिक सञ्जालमा सम्प्रेषित गर्दै तस्बिर बोल्ने भन्दै खुशी व्यक्ति गरेर तस्बिरहरू सेयर गरिरहेका छन । कतिपयले भने मन चिसिदै गएपछि सोफा नजिक हुन थालेको आशंका गरेका छन । ओली र देउवा पछिल्लो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेर भए पनि सरकारको काम प्रभावकारी बनाउने विषयमा छलफलमा समेत लागेका छन ।

सरकारमा सहभागी मन्त्रीहरूमा अर्थ र सञ्चारबाहेकका मन्त्रीले खासै प्रभावकारी काम गर्न सकेका छैनन् । बाहिर विपक्षी र अन्यले गठबन्धनमा चिसोपना बढेको चर्चा चल्न थालेपछि सत्तारूढ दलका नेताहरूले हाँसेर तस्बिर कैद गराउँदै सार्वजनिक गरिरहेका छन ।

सत्तासहकार्यका विषयमा एमालेभित्र कुनै समस्या नदेखिए पनि नेपाली कांग्रेसका नेताहरूले भने सार्वजनिक रूपमै असन्तुष्टि जनाउन थालेका छन । कतिपय अवस्थामा एमाले नेताहरू र मन्त्रीहरूले पनि सरकारविरूद्ध घेराबन्दी भैरहेको र काम गर्न नदिएको भन्दै गुनासो समेत गरिरहेका छन ।

प्रकाशित मिति : 22:25