ट्याक्सीको मिटर भाडा समायोजनमा पाइलै पिच्छे घुसको कारोबार, गाडी भित्र छिराउन पनि घुस
१७ पुस, काठमाडाैँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा मिटर भाडा समायोजनको काम अगाडि बढाएको छ । विभागले गत असोज ७ गते सार्वजनिक बसमा भाडा बढेसँगै ट्याक्सीमा पनि १० प्रतिशत भाडा बढाउने यातायात व्यवस्था विभाग र मन्त्रालयको निर्णयलाई कार्यान्वयन गर्दै मङ्सिर पहिलो हप्तादेखि ट्याक्सीमा मिटर भाडा समायोजनको कामलाई अगाडि बढाएको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी हालसम्म दुई हजार २०० ट्याक्सीमा नयाँ भाडा समायोजन गरिसकिएको जानकारी दिए ।

“मिटर र प्रिन्टर मेसिन ठीक छ वा छैन हेरेर मिटरमा भाडा समायोजनका काम अगाडि बढाएका छौँ”, उनले भने । विभागले दैनिक ८० देखि १०० ट्याक्सीको भाडा समायोजन गर्दै आएको छ । पहिला ट्याक्सी चलाउन थालेपछि एक किलोमिटर गुड्दा रु ५० मिटरमा उठ्ने गरेकामा नयाँ भाडा समायोजन गरेपछि एक मिटरमा रु ५३ उठ्छ । यसअघि विभागले उपत्यकामा गुड्ने सबै ट्याक्सीमा प्रिन्टर मेसिनसमेत जडान गरिसकेको छ ।

नेपाल मिटर ट्याक्सी व्यवसायी सङ्घका अध्यक्ष अर्जुन गौतम ट्याक्सीमा भाडा समायोजन गरेसँगै ट्याक्सी व्यवसायीलाई थोरै भए पनि राहत हुने बताउँछन । “समायोजन गरेको भाडा वैज्ञानिक भाडा होइन, भाडा बढाउने विषयमा सङ्घले सम्बन्धित निकायको ध्यानाकर्षण गरिरहेको छ”, उनी भन्छन । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजार ६०० मिटर ट्याक्सी सञ्चालनमा छन् ।
यसैबीच मिटर समायोजनकै काम चलिरहेको विषयमा अन्नपूर्ण पोस्टले विभागमा एक घन्टामा १२ पटक लेनदेन, पैसा नदिए गेटसम्म खुल्दैन शीर्षकमा खोजमुलक समाचार प्रकाशन गरेको छ । समाचार यस्तो छ
काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन् । आइतबार विहान ११ :२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोषक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस् ।’ चालक अनकनाए । कमाइ नभएको भन्दै गुनासो गरे । तर ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन् । चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे ।
ती चालक विभागभित्र काम सकाएर गेटतर्फ मोडिए । गेट नजिकै पुगे तर गेट खोलिएन । गेटमा बस्ने कर्मचारी उनको नजिक आए । अनि हाकाकाकी भने, ‘चिया खर्च दिनुस् पहिला ।’ चालकले पहिल्यै ५० रुपैयाँ बुझाइसकेको बताए । विहानैदेखि एकसुको कमाइ नभएको भन्दै गुनासो गरे । तर गेट खुल्दै खुलेन । कर्मचारी भन्दै थिए, ‘हामीलाई पनि हेर्नुपर्यो नि ।’ गेट खुलेन । चालकले एकसयको नोट निकालेर कर्मचारीको हातमा थमाइदिए । बल्ल गेट खुल्यो । ‘मनपरी हुन्छ यहाँ । पाइलैबिच्चै घुस खुवाउँनुपर्छ ।’ चालक रिसाउँदै गोंगबुतर्फ लागे ।
मिटर चेक गर्ने ठाउँ नजिकै कसैलाई जान दिइदैन । नजिकै गयो भने झपारेर पठाइन्छ । भित्तामा सुचना टाँसिएको छ, ‘ट्याक्सीमा एकजना मात्रै चढ्नु होला ।’ मिटर जाँच गरिसकेपछि मास्क लगाएका ती कर्मचारीले भन्छन्, ‘यसो बिचार गर्नुस है ।’ एकजना ट्याक्सी चालकले भने ‘मिटर चेक गर्ने ठाउँमा हावा कम छ भनेर ५० रुपैया माग्यो । मैले दिएँ ।’ उनी रिसाउँदै बाहिरिए ।
जता गयो उतै माग्छन्
दिउँसो ११ :१५ देखि १२ :१५ सम्म विभागमा जम्मा २५ वटा ट्याक्सी भित्रिए । यही अवधिमा २० ट्याक्सी गेटबाट बाहिरिए । बाहिरिने मध्ये १७ वटाले आफ्नो काम बनेको बताए । तीमध्ये १२ वटा ट्याक्सी चालकले गेटका कर्मचारीलाई १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घुस दिएर गए । कर्मचारीले सिधै घुस मागे पनि ५ ट्याक्सी चालकले भने दिएनन् । कोही बिहानदेखि कमाइ नभएको भन्दै झर्किँदै गए । कोही ‘सरकारले दिन्छ । हामीसँग किन माग्या ? ’ भन्दै थर्काएर गए ।
गेटमा बस्ने कर्मचारीको घुस माग्ने तरिका अचम्मको थियो । ट्याक्सी हुँइकिएर गेटमा आइपुग्थ्यो । कर्मचारी गेटको एउटा ढोका बन्द राखेर ट्याक्सीलाई रोक्थे । जबसम्म ती कर्मचारीलाई चालकले पैसा थमाइदिँदैन थिए, तबसम्म गेट बन्द हुन्थ्यो । रुपैयाँ हात परेपछि ढोका खुल्थ्यो ।
ट्याक्सी चालक जगत श्रेष्ठले ती कर्मचारीलाई २० रुपैयाँ थमाएर बाहिरिए । उनी भन्दै थिए, ‘गेटमा बस्ने, मिटर जाँच्ने, सिल मार्ने जहाँसुकै बस्नेले सिधै घुस माग्छ ।’ अढाइ दशकदेखि टेम्पो र ट्याक्सी चलाउँदै आएका श्रेष्ठले विभाग कहिल्यै नसुध्रिएको बताए । उनले भने, ‘यहाँ आउँदा प्रत्येक पटक पैसा दिएको छु । कहिल्यै सुध्रिएन यो कार्यालय ।’
प्रविन थपलिया ट्याक्सीको मिटर जाँच्न विभाग पुगे । उनलाई विभागको अवस्थाबारे पूर्वजानकारी थियो । उनले विहानै खुद्रा पैसा स्टेरिङ छेउको सानो डिकीमा हाले । अपशोष ! मिटर रिड नगरेका कारण उनको काम बनेन । उनले भने, ‘आज पैसा चढाउनु परेन । अब अर्को पटक आउँदा चढाउनुपर्छ ।’
विभागका महानिर्देशक विश्ववावु पुडासैनीले घुस माग्ने कर्मचारीलाई तुरुन्तै बोलाएर स्पष्टिकरण लिइने बताए । उनले भने, ‘अहिले तुरुन्तै बोलाएर स्पष्टिकरण लिन्छु । कार्यालयमा यस्तो काम गर्न छुट छैन । पहिला पनि कारबाही गरिसकेका छौं ।’
प्रकाशित मिति : 09:18









