२६ पुष २०८१, शुक्रबार | Fri Jan 10 2025

कर्ण थापाले केन्द्रीय कमिटीमा केपी ओलीका अघि भन्न नपाएको केही वाक्य यस्ता थिए

२५ पुस, काठमाडौँ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य कर्ण थापा प्रष्ट वक्ताकै रूपमा चिनिनु हुन्छ । थापा र एमालेबाट बर्खास्तगीमा पर्नुभएको डा भीमबहादुर रावल सुदुरपश्चिम प्रदेशको राजनीतिमा कुनै समय आमनेसामने हुनुहुन्थ्यो । एमालेको दशौँ महाधिवेशनमा पार्टी अध्यक्षको उम्मेदवार बनेपछि रावल केपी शर्मा ओलीको निशानामा पर्नुभयो ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा ओलीले रावललाई टिकट नदिने पूर्व जानकारी पाएपछि त्यो रोक्नुपर्छ भनेर अभियाननै चलाउनुभएको थापा पछिल्लो पटक ओलीले रावलसँग वार्ताका लागि बताउनुभएको कार्यदलको सदस्य समेत हुनुहुन्थ्यो । तर उक्त कार्यदलले खासमा काम नै पाएन । यद्यपी रावललाई एमालेबाट सडकमा पुर्याउनुपर्छ भन्ने ओलीको मान्यतामा उहाँको सहमति थिएन ।

उहाँले बिहीबार बिहान सामाजिक सञ्जाल मार्फत केन्द्रीय कमिटी बैठकको तीन मिनेटको समयभित्र बोल्न नपाएको विषय भन्दै एउटा च्याप्टर सार्वजनिक गर्नुभएको छ । जसमा सबै प्रकारका आग्रह र लोभबाट मुक्त भएर पार्टी, देश र जनताको हितलाई केन्द्रमा राखेर समयमै सोच्ने र बोल्ने गरौँ भन्ने अपिल रहेको छ । उहाँले तीन मिनेटभित्र बोलेको कुरा नखुलाए पनि ३ मिनेट बाहिरको सन्दर्भमा महाभारतका पात्र र प्रवृतिको कुरा उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘नेकपा एमालेकाे बैठकमा लिखित सुझाव दिनेक्रममा ३ मिनेटभित्र पढ्न छुटकाे अंश यस्तो थियाे,” मृत्युुशैयामा गएका भिष्मपितामहले जे सत्य बाेले त्यही सत्य कुरूसभामा द्रौपतिको चिरहरणहुदा बाेलेकाे भए महाभारतकाे कथा नै फरक ढंगले लेखिन्थ्याे हाेला । महाभारतमा कृण्ण थिए कृण्णलगायत महाभारतका पात्रकाे भुमिकालाई आफ्नै आखाले देख्ने बर्बरिक थिए । जसका कारणले महाभारतका पात्र र प्रवृत्ति बुझ्न मदत मिलेकाे छ तर एमालेले नाेक्सानि वेहाेरि सकेपछि यदुबंशीकाे विनासकाे कथा दाेहरिने छ । विनास पछिकाे शिक्षा हामीलाई काम लाग्ने छैन । महाभारतमा कृण्णसंग भएकाे सुदर्शनचक्र एमालेको हकमा पार्टीभित्रकाे लाेकतान्त्रिक अभ्यास,न्यायमा आधारित बलियो र वास्तविक एकता नै हाे । सबै प्रकारका आग्रह र लाेभबाट मुक्त भएर पार्टी, देश र जनताकाे हितलाई केन्द्रमा राखेर समयमै साेचाै, बाेलाै ।’

प्रकाशित मिति : २५ पुष २०८१, बिहीबार १३:२४