२१ पुष २०८१, आईतवार | Sun Jan 5 2025

वर्तमान सरकार आएपछि धेरै मानिसहरू कवि भएः मन्त्री दाहाल

१६ पुस, काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अहिलेको सरकार आए पछि धेरै मानिसहरु कवि भएको बताउनु भएको छ । सरकारले गरेका राम्रा कामलाई स्विकार्न नसक्नेहरुले कविता लेखेर भ्रम छरीरहेको उहाँको भनाई छ ।

सडक वोर्ड नेपालको २२ औ स्थापना दिवशको अवसरमा सोमबार वोर्डमा आयोजीत कार्यक्रममा उहाँले अहिलेको सरकार र मन्त्रालयले गरेका राम्रा काम स्विकार गर्न नसक्दा धेरै मानिस कवि भएको टिप्पणी गर्नु भएको हो । ‘तथ्य र विषयलाई विषयान्तर गर्न धेरैले कविताले लेखे, धेरै कवि भए’ प्रमुख अतिथी रहनु भएका मन्त्री दाहालले भन्नुभयो, ‘बिरोध गर्नेहरुको कहिल्यै खाँचो हुँदैन, सरकारको विरोध मात्रै गरेर गुजरा चलाउनेहरु पनि यहाँ छन् ।’

त्यस कार्यक्रममा उहाँले सडक तथा पूर्वाधारलाई आर्थिक समृद्धीसँग जोड्न आवश्यक रहेको बताउनु भयो । अब बन्ने संरचनाहरुले देशको समृद्धी यात्रामा कति महत्व राख्छन् भन्ने विषयलाई ध्यान दिन जरुरी रहेको उहाँको भनाई थियो । नेपाल अझै पनि निर्माणकै चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले अब बन्ने संरचनाहरुलाई दिगो, सुरक्षित र उपयोगी बनाउने तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।

वोर्डका अध्यक्ष मन्त्रालयका सचिव केशवकुमार शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले आर्थिक वृद्धीको प्रमुख आधार सडक समेत भएकाले आर्थिक विकास र वृद्धीलाई सहयोग पुग्ने गरि सडक सञ्जाल विस्तार गर्नु पर्ने बताउनु भयो । वोर्डका कार्यकारी निर्देशक गणेश केसीले वोर्डलाई स्वायत्त बनाउने तर्फ सरकारको ध्यान जानु पर्ने बताउनु भएको थियो भने कार्यक्रममा वोर्डका पूर्व सदस्यहरुलाई सम्मान गरिएको थियो

प्रकाशित मिति : १६ पुष २०८१, मंगलवार ०८:४५