१९ पुष २०८१, शुक्रबार | Sat Jan 4 2025

नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा ‘ऊनको स्वीटर’को गीत ‘मखमली’

१४ पुस, काठमाडौँ  । वैशाख २६ गते रिलिज हुने नेपाली चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘मखमली’ले रिलिजको तीन दिनमै युट्युबमा तहल्का मच्चाएको छ । यो गीत हाल नेपालसहित विभिन्न देशमा युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ ।

यो गीत नेपालको युट्युबमा ट्रेन्डिङको यात्रामा पहिलो स्थानमा पुगेको छ । नेपालमा मात्र नभई माल्टामा पहिलो, कतारमा दोस्रो, अस्ट्रेलिया र युएईमा पाँचौँ तथा कुवेतमा उन्नाइसौँ स्थानमा रहेर यो गीतले नेपाली चलचित्रप्रतिको विश्वव्यापी चासोलाई झल्काएको छ । यी सबै मुलुकहरूमा नेपालीहरूको सङ्ख्या व्यापक रहेको छ र प्रवासमा रहेका नेपालीहरूको यो चासोले यस चलचित्रको विदेश रिलिज व्यापक हुने अनुमान गरिएको छ ।

गत बिहीबार साँझ रिलिज भएको यो गीत दश लाख बढी पटक युट्युबमा हेरिएको छ भने टिकटक र फेसबुक रिल्समा लाखौँ युजरले यसको भिडियो बनाएका छन् । गीतको टीजर नै केही दिनअघि सार्वजनिक हुँदा दर्शकहरूको अत्यधिक रुचि पाएको थियो । पूर्ण गीत सार्वजनिक भएपछि यो अपेक्षाकृत चर्चित बनेको छ र यसबाट दर्शकहरूले चलचित्र हेर्न व्यग्र प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेको निर्देशक नवीन चौहानले बताए ।

यो गीतले नेपाली लोक सङ्गीतको चर्चित ‘कौडा/चुट्का’ भाकालाई पुनः जागरण गर्दै अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरबीचको अव्यक्त प्रेमलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । पाँचथर र नेपाल–भारत सीमावर्ती फालेलुङको सांस्कृतिक परिवेशमा आधारित यो चलचित्रका गीत तथा दृश्यहरूले दर्शकहरूको मन जितिरहेका छन् ।

‘मखमली’ गीतलाई सुजन चापागाईँ र सुनिता थेगिमले स्वर दिएका छन् । हर्क साउदको शब्द रचना, सुजन चापागाईँकै सङ्गीत, र कोविद बज्रको सङ्गीत निर्माण रहेको छ । दीप गुरुङको कोरियोग्राफीमा बनेको भिडियोमा अभिनेता विल्सन विक्रम राईको रोचक भूमिकाले थप आकर्षण थपेको छ ।

‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को निर्माणमा बनेको पहिलो फिचर चलचित्र हो । चलचित्रलाई नवीन चौहानले निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह लेखन रहेको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, र भावना खपाङ्गी मगरलगायतको अभिनय रहेको छ ।

प्रकाशित मिति : १४ पुष २०८१, आईतवार १३:४७