७ पुष २०८१, आईतवार | Sun Dec 22 2024

रविविरूद्ध जिल्ला अदालत कास्कीमा २७ करोड ८९ लाख बिगो मागदाबीसहित मुद्दा

७ पुस, काठमाडाैँ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेका विरूद्धमा जिल्ला अदालत कास्कीमा २७ करोड ८९ लाख बिगो मागदाबीसहित मुद्दा दायर भएको छ । आइतबार जिल्ला सरकारी वकीलको कार्यालय कास्कीले लामिछानेविरूद्ध २७ करोड ८९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दार्ता गरेको हो ।

सहकारी ठगी र संगठीत अपराधको समेत मुद्दा समेत चलाइएको भए पनि सरकारी वकीलको कार्यालयले विस्तृतमा खुलाएको छैन । आइतबार रविसहित ३१ जनालाई प्रतिवादी बनाइएकोछ । जसमा ८ वटा कम्पनी र ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको छ । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको कास्कीको सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले  जानकारी दिनुभयो ।

यस्तै सहकारी ठगी प्रकरणको चर्चित मुद्दामा चलचित्र विकास बोर्डको पूर्व अध्यक्ष निकिता पौडेललाई पनि प्रतिवादी बनाइएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेको श्रीमति पौडेलविरूद्ध सम्पत्ति जफताका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकीलको कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेले पौडेलसहित सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ । त्यसरी प्रतिवादी बनाइएको अन्यमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईं रहेका छन ।

लामिछाने विरुद्ध संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अदालतमा अभियोग पत्र दर्ता भएको छ । पौडेललाई भने सम्मपत्ति शुद्धिकरणको मुद्दामा प्रतिवादी बनाइएको बताइएको छ ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १५:१५