४ पुष २०८१, बिहीबार | Thu Dec 19 2024

लगानी सम्मेलन कोशी सरकारकै व्यानरमा हुन्छः मुख्यमन्त्री कार्की

४ पुस, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशीमा हुने लगानी सम्मेलन प्रदेश सरकारले नै गर्ने बताउनुभएको छ । प्रदेशसभाको सुशासन तथा योजना समितिको बैठकमा मुख्यमन्त्री कार्कीले बाहिर चर्चा गरेजस्तो विवाद नरहेको दाबी गर्नुभयो । यस अघि विभिन्न संस्थाले लगानी सम्मेलन गर्ने प्रचार गरिएपछि मुख्यमन्त्री कार्कीले यस्तो दाबी गर्नु भएको हो । निजि क्षेत्रको सहकार्यमा यो सम्मेलन गर्ने उहाँले बताउनुभयो ।

“कुनै एउटा संगठनको ब्यानरमा नभए सम्मेलन सरकारले गर्ने हो । तयारी पूरा भएपछि एउटा ‘ग्रान्ड’ पत्रकार सम्मेलन गरेर थप जानकारी गराउने तयारी छ, सरकार मूल आयोजक हुन्छन् । पूर्ण प्रस्ताव बनेपछि थप छलफल हुनेछ,” मुख्यमन्त्री कार्कीले भन्नुभयो,“मलेसियाका पूर्वअर्थमन्त्री आउने प्रतिवद्धता जनाउनु भएको छ । विश्व बैंकका पूर्वसिइओ पनि आउने सम्भावना छ । प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी हुनु हुनेछ । यो, साझा लगानी सम्मेलन हो ।
यसका लागि तीन करोड तीस लाख रुपैयाँ विनियोजन भएकोसमेत मुख्यमन्त्री कार्कीले जनाकारी दिनुभयो । बजेट लगानी बोर्डलाई पठाइएको र बजेट बाँडफाँट गरेर बोर्डले पास गरेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले राजनीतिक दल, नेपाल सरकारका माथिल्ला निकाय, संसदीय दल, लगानी बोर्ड तथा योजना आयोग आदिको सल्लाह सुझाव समेत लिएर अघि बढिरहेको बताउनुभयो ।

लगानी सम्मेलनका विषयमा विभिन्न प्रश्न उठिरहेको सन्दर्भमा प्रदेश सभाको सुशासन तथा योजना समितिले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सरोज कोइरालासँग छलफल गरेको थियो ।

कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि तीन दिनसम्म विराटनगरमा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ । लगानी बोर्डका सिइओ सरोज कोइरालाले लगानी बोर्डको खातामा पठाइएको र अब बजेट लगायत प्रक्रिया अघि बढाउने बताउँदै सम्मेलनमा कूल ३७ वटा परियोजना छनोट गरेर शोकेस गर्ने तयारी रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ पुष २०८१, बिहीबार १८:३७