त्रिविको जग्गा हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्रीको प्रतिबद्धता
३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताए ।
त्रिविको जग्गा खोजबिन आयोगको प्रतिवेदन बुझेको भोलिपल्ट प्रधानमन्त्री ओलीले जग्गा त्रिवि मातहत ल्याउने र हिनामिना गर्नेलाई कारबाहीको दायरामा ल्याउने बताए ।
त्रिविको जग्गा खोजबिन गर्न गठित समितिले मंगलबार प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो ।
प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् -‘खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ । त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् ।’
आयोगले अध्ययन प्रतिवेदन बुझाउने कार्यक्रममा सहकुलपतिसमेत रहेकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई पनि उपस्थित थिइन्। साथै आयोगका अध्यक्ष त्रिताल बिरामी भएकोले उपस्थित हुन सकेनन् ।
आयोगबाट प्रतिवेदन बुझ्दै प्रधानमन्त्रीसमेत रहेका कुलपति ओलीले त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले कार्यान्वयनमा लैजाने बताए ।
आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ। ‘हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने,’ उनले भने ।
सरकारले २०८१ जेठमा त्रितालको नेतृत्वमा त्रिविको जग्गा र सम्पत्ति खोज्न आयोग गठन गरेको थियो। आयोगमा पूर्वसचिवहरू महेन्द्रकुमार थापा, जानकीवल्लभ अधिकारी र त्रिवि विज्ञ सदस्य प्रा।डा। प्रेमसागर थापा सदस्य थिए।
प्रकाशित मिति : December 18, 2024 at 11:57 am









