एनपिएलमा दुई खेल हुँदै, प्लेअफमा पुग्ने लडाइँ
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार दुई खेल हुँदैछ।
त्रिवि मैदान कीर्तिपुरमा शनिबार बिहान ९ बजे पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ। प्लेअफ सम्भावलाई जिवित राख्न दुवै टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ।
अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ।
काठमाडौं गुर्खाज चितवनसँग ५ विकेटले, सुदूरपश्चिमसँग ७३ रनले र जनकपुरसँग ५ विकेटले पराजित हुँदा लुम्बिनीलाई १८ रन र कर्णालीलाई ३ विकेटले पराजित गरेको थियो।
पोखराले पछिल्लो खेलमा विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको थियो । त्यो एनपीएलमा खेलिएको पहिलो सुपर ओभर थियो । उता, काठमाडौँ भने जनकपुर बोल्ट्ससँग ५ विकेटले स्तब्ध बनेको थियो ।
एनपीएलका आठ क्लबमध्ये पोखरा एभेन्जर्स सबैभन्दा महँगोमा बिक्री भएको क्लब हो । पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल हुन् र प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।
काठमाडौँ गुर्खाज कान्तिपुर पब्लिकेसनको स्वामित्वमा रहेको क्लब हो । काठमाडौँ गुर्खाज नाम पनि कान्तिपुर पब्लिकेसनले नै राखेको हो । काठमाडौँ गुर्खाजका मार्की खेलाडी भने करण केसी हुन् र प्रमुख प्रशिक्षक वसन्त शाही हुन्
त्यस्तै, दोस्रो खेलमा भने चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ।
प्रकाशित मिति : December 14, 2024 at 9:08 am









