७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

एनपीएलः सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनीको लगातार तेस्रो हार

२२ मंसिर, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) लगातार तेस्रो जित हात पारेको छ ।

शनिवार भएको पहिलो खेलमा  सुदूरपश्चिम रोएल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले एनपिएलमा लगातार तेस्रो जित निकालेको छ भने लम्बिनीको यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि विवेक यादवले अविजित ७७ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् ।

विवेकले ५१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे । सन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन जोड्दा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै, कप्तान रोहित पौडेल ५, रामोस सिमण्ड्स ०, सूर्य तामाङ ७, उन्मुक्त चन्द ४, अर्जुन साउद ०, टम मुर्स ७ र साद विन जफर शुन्य रनमा आउट भए ।

१९ रन जोड्दा ५ विकेट गुमाएको लुम्बिनीको ब्याटिङलाई विवेकले सम्हाल्ने कोशिस गरेपनि सफल भने हुन सकेनन् । बलिङमा सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेन र सैफ अलि जैबले ३–३ र स्कट कुगेलेइनले २ र अभिनास बोहराले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार १२:४३