१७ मंसिर २०८१, सोमबार | Mon Dec 2 2024

ओखलढुंगाको मोलुङ ५ मा एमाले भारी मतले विजयी, कांग्रेस र रास्वपाको प्रतिस्पर्धा

१६ मंसिर, काठमाडौँ । कोशी प्रदेशको ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ५ मा भएको स्थानीय तह उपनिर्वाचनमा भारी मतान्तरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । आइतबार राति सम्पन्न मतगणनामा एमालेका गंगाबहादुर तामाङ ३९९ मतसहित विजयी हुनुभएको छ ।

त्यस्तै नेपाली कांग्रेसका घनश्याम दाहालले १७७ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विष्णुप्रसाद पोखरेलले १५१ मत प्राप्त गर्नुभएको छ । त्यस्तै माओवादी केन्द्रका मानबहादुर सुनारले २३ मत प्राप्त गर्नुभएको छ।

यस्तै राष्टिय प्रजातन्त्र पार्टीका चन्द्रमणि दाहालले ३ मत र जनता समाजवादी पार्टीका इन्द्रबहादुर दर्जीले ३ मत प्राप्त गर्नुभएको छ । जम्मा १२ मत बदर भएको छ । मोलुङ ५मा कुल ७६८ मत खसेको थियो ।

यसअघि गत स्थानीय निर्वाचनमा सोही वडामा नेपाली कांग्रेसका गोपीकृष्ण कार्की ३८४ मतसहित विजयी हुनुभएको थियो। प्रतिद्धन्द्धी एमालेका गोपाल नेपालले ३७० मत प्राप्त गर्नुभएको थियो भने नेकपा एकीकृत समाजवादीका किशान खत्रीले ३५ मत, नेकपा माओवादी केन्द्रका माबहादुर सुनारले ३० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रमणि दाहालले ५ मत प्राप्त गर्नुभएको थियो ।

यसपटक मोलुङमा नेकपा एकीकृत समाजवादीले उम्मेदवार नै पाउन सकेन भने माओवादी र राप्रपाले यसअघिको मत जोगाउन सकेको देखिदैन ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आईतवार २१:४७