२४ मंसिर २०८१, सोमबार | Tue Dec 10 2024

लोभ लालचमा नपर्ने कसम खाँदै धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए सपथ

११ मंसिर, काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नवनियुक्त सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेपछि मंगलबार अर्थ मन्त्रालयमा नियुक्तिपत्र बुझ्दै अध्यक्ष श्रेष्ठले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग सपथ (कसम) खानुभएको हो ।

सो अवसमार उपप्रधान एवं अर्थमन्त्री पौडेलले उच्च नैतिकवान भएर सम्पूर्ण आशंका चिर्दै काम गर्न शुभकामना दिनुभयो । उहाँले श्रेष्ठलाई बधाई दिँदै धितोपत्र बजारका यावत समस्या हल हुने अपेक्षा गरेको बताउनुभयो ।

उहाँले लोभलालचमा नपरी धितोपत्र कानुन अनुसार क्षमताले भएसम्म उच्च नैतिकता प्रदर्शन गर्दै काम गर्ने बताउनुभयो । शपथसँगै उहाँले नियुक्ति गरेर काम गर्ने अवसर प्रदान गरेकोमा सिफारिस समिति, अर्थमन्त्रालय र मन्त्रिपरिषद्लाई धन्यवाद समेत दिनुभयो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग सपथ लिँदै नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नवनियुक्त सन्तोषनारायण श्रेष्ठ । तस्बिरः केशव थोकर, उपप्रधानमन्त्रीको सचिवालय

झण्डै एक वर्षदेखि धितोपत्र बोर्डको अध्यक्ष रिक्त रहेको थियो । २०८० सला पुस २० गतेदेखि बोर्ड नेतृत्वबिहीन भएको थियो । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल सकिएसँगै बोर्डको अध्यक्ष नियुक्तिको विषय चरम विवादित बनेको थियो ।

आइतबार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष  प्रा डा शिवराज अधिकारीको संयोजनमा रहेको सिफारिस समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा श्रेष्ठले अध्यक्षमा नियुक्त हुनुभएको छ । श्रेष्ठसहित डा नवराज अधिकारी र मुक्ति श्रेष्ठको नाम अध्यक्षका लागि सिफारिस भएको थियो ।

 

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलवार १८:१०