१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

निर्मला हत्या प्रकरणः कुखुरा चाेरलाई बलात्कारी बनाउन प्रहरी असफल, प्रदिप रावल रिहा

११ पौष, काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आशंकामा पक्राउ परेका प्रदीप रावल हिरासत मुक्त भएका छन्।

मंसिर १८ गते काठमाडौँबाट पक्राउ परेका कञ्चनपुरका रावललाई सार्वजनिक अपराधमा म्याद थप गर्दै महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। रावललाई चारपटक काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट म्याद थपेर थुनामा राखिएको थियो। अन्ततः उनी बुधबार रिहा भएका छन्।

रावलकै बयानको आधारमा कञ्चनपुरबाट पक्राउ परेका विशाल चौधरी भने गत शनिबार रिहा भएका थिए। प्रहरी स्रोतका अनुसार रावल र चौधरी दुबैको डिएनए नमिलेपछि छुटेका हुुन्। यद्यपि उनीहरुको डिएनए प्रहरीले आधिकारिक रूपमा अहिलेसम्म सार्वजनिक गरेको छैन।

रावलको बयानले निर्मला हत्याको पर्दाफास हुने संभावना बढी रहेको भन्दै गत मंसिर १९ गते राति रावलको बयान लिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सिआइबी पुगेका थिए। रावल निर्मलाको हत्या भए लगत्तै भारत गएका उनी ५ दिनपछि कञ्चनपुर फर्किएका थिए। त्यसपछि प्रहरीले उनीमाथि शंका गर्दै डिएसपी अंगुर जिसीको टोलीले पक्राउ गरेको थियो। तर उनको संलग्नता नदेखिएपछि रावललाई रिहा गरिएको थियो। रावल लागुऔषध दुर्व्यसनी समेत हुन्।

१३ वर्षीया निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव नजिकैको उखुबारीमा साउन ११ गते फेला परेको थियो। घटनाको पाँच महिना बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाउन सकेको छैन। अनुसन्धानका क्रममा प्रहरीले दर्जनौंसँग सोधपुछ गरेको छ।

प्रकाशित मिति : December 26, 2018 at 5:14 pm