दुई छोरालाई विष खुवाएर आमाले पनि खाइन् विष, कान्छाे छाेराकाे मृत्यु
११ पुस, धनुषा । धनुषामा घरायसी विवादको कारण एउटी महिलाले दुई छोराहरुलाई विष खुवाई आफूले पनि विष सेवन गरेकी छिन् ।
धनुषाको लक्ष्मीनियाँ गा उँपालिका-१, सोनमाई खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती २४ वर्षकी रिना देवी यादवले आफ्ना दुई छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् । विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर घाइते छन् ।

आमालाई उपचारका लागि जनकपुरको जानकी हेल्थकेयरको आईसीयूमा भर्ना गरिको छ भने जेठो छोरा रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । कान्छो छोरा रितेशको शव पोस्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।
स्थानीयका अनुुसार सोमबार राति घरमा सासुसँग घरायसी विवाद भएपछि मंगलबार बिहान रिना दुई छोरालाई लिएर घरबाट निस्केकी थिइन् । घरपरिवार र स्थानीयले खोजी गरिरहेकाे बेला रिना छोराहरुसहित विष सेवन गरेको अवस्थामा मंगलबार दिउँसो करिब ३ बजे जनकपुरको कभर्डहल नजिक फेला परेकी थिइन् ।
आमाले जबर्जस्ती विष खुवाएका कारण कान्छो छोरा सिकिस्त भएका थिए भने जेठो छोरा रितिक विष सेवनको कारण सडकमा लडबडाई हिँडिरहेको अवस्थामा स्थानीयले देखेका थिए ।
त्यसपछि खोजी गर्दा रितिकले आफ्नी आमाले आफैं विष खाएर भाई र आफूलाईसमेत खुवाएको बताएका थिए । तीनै जनालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो छोरा रितेशको बाटोमै ज्यान गएको थियो । रिनालाई अझै पनि होस आएको छैन । तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकहरुले बताएका छन् ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति : 13:31







