२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

खेल पर्यटनको माध्यमबाट नेपाल–चीनको सम्बन्ध प्रगाढ बनाउनुपर्छ: मन्त्री पाण्डे

२४ कात्तिक, गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउँदै विकासको गतिमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

पोखरा महानगरपाकिला, चिनियाँ दूतावास र हिमालयन टुरिज्म फोरमद्वारा आज पोखरामा आयोजित तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको उद्घाटन गर्दै उहाँले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल सरकारले सन् २०२५ लाई नेपाल–चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जाने बताउनुभयो ।

नेपाली र चिनियाँ नागरिक एकापसमा घुलमिल हुनु आवश्यक भएको बताउँदै उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थित रुपमा सञ्चालन गर्न पहल भइरहेको बताउनुभयो ।

नेपाल धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै उहाँले मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिर जस्ता प्रसिद्ध स्थल रहेको बताउनुभयो । नेपाल–चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी रहेको बताउँदै मन्त्री पाण्डेले यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालले अगाडि बढ्न चाहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन दुई वर्षदेखि नेपलका विभिन्न सहरमा खेलकुदका गतिविधि सञ्चालन हुँदै आएको बताउनुभयो । नेपाल–चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पूरा हुने अर्को वर्ष चीनमा भव्य रुपमा कार्यक्रम गरी मनाउने उहाँको भनाइ छ ।

नेपाल र चीनबीच खेलकुद तथा संस्कृतिका पक्षलाई व्यापक बनाउन नेपालमा यस्ता गतिविधि भएको बताउँदै उहाँले यस्ता कार्यले नेपाल र चीनबीचको मित्रतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउन यो प्रतियोगिता महत्वपूर्ण बन्ने उल्लेख गर्दै नेपाल र चीनबीचको पर्यटकीय गतिविधिमा पनि यसले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

राष्ट्रिय खेदकुद परिषद्का कार्यवाहक महासचिव अञ्जना श्रेष्ठले खेल पर्यटनको सम्भावनालाई यस किसिमका प्रतियोगिताले टेवा पुर्याउने धारणा राख्नुभयो । प्रतियोगिताअन्तर्गत पोखरास्थित लेकसाइडको बाराहीघाटबाट विभिन्न चार विधामा प्रतिस्पर्धा भएका छन् ।

प्रतियोगिताअन्तर्गत ५० किलोमिटर समूहगत र व्यक्तिगत, विद्यार्थी दौड, पाँच किमी र ह्यप्पी रन समूहमा दुई किमी दौड आयोजना गरिएको छ । पर्वतीय दौडमा खेलाडीले ५० किलोमिटरको दूरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ ९बोटिङ० गर्नुपर्ने हुन्छ । दौडका क्रममा खेलाडीले कूल दुई हजार दई सय ५८ मिटर उचाइ पार गर्नेछन् । त्यस्तै च्यालेन्ज इण्डिभिजुअल समूहमा ५० किलोमिटरको ट्रेलमा दुई हजार ३६६ मिटरको कुल उचाइ पार गर्नेछन् ।

पचास किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोला हुँदै स्याङ्जाको फेदीखोला, पोखरा–२२ पुम्दीभुम्दी, शान्ति स्तूपबाट फेवाताल, पामे हुँदै पुनः बाराहीघाट पुगेर सम्पन्न हुनेछ ।

यसका लागि बाराहीचोकदेखि ड्यामसाइडसम्मको मार्ग तय गरिएको छ । पचास किलोमिटर टिम समूहमा प्रथम हुनेले रु चार लाख ५८ हजार ४०० सहित मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो हुनेले मेडल र प्रमाणपत्रसहित रु तीन लाख ४३ हजार ८०० र तेस्रो हुनेले रु दुई लाख २९ हजार २०० पाउनेछन् । यस्तै चौथोलाई रु एक लाख ५२ हजार ८०० र पाचौँलाई रु ९५ हजार ५०० पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा ६४ जना चिनियाँसहित एक हजार दुई सय धावक सहभागी बनेका छन् ।

च्यालेन्ज इन्डिभिजुअल दौड समूहमा शीर्ष १० पुरुष तथा महिलाले नगद, मेडल र प्रमाणपत्र पाउनेछन् । यस प्रतियोगितामा प्रथमका लागि रु एक लाख ५२ हजार ८००, दोस्रोका लागि रु एक लाख १४ हजार ६०० र तेस्रो हुने खेलाडीले रु ७६ हजार ४०० प्राप्त गर्नेछन् ।

चौथोदेखि सातौँ हुने खेलाडीका लागि रु ३८ हजार २०० र आठौँदेखि दशौँ स्थान प्राप्त गर्ने खेलाडीका लागि रु १९ हजार १०० पुरस्कारको व्यवस्था गरिएको छ । यस दौडमा एक सय जना नेपाली र ५२ चिनियाँ गरी १५२ जनाले सहभागिता जनाएका छन् ।

विद्यार्थी दौडमा शीर्ष छ ९महिला÷पुरुष दुवै० खेलाडीका लागि नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रथम हुनेका लागि रु ३० हजार, दोस्रोका लागि रु २५ हजार र तेस्रोका लागि रु २० हजार पुरस्कार राशी रहेको छ । चौथोदेखि छैठौँ हुने खेलाडीले रु १०÷१० हजार पाउनेछन् । विद्यार्थी दौडमा पाँच सयभन्दा बढी विद्यार्थीले सहभागिता जनाएका छन् । यस्तै ह्याप्पी रनमा सहभागी हुने खेलाडीले प्रमाणपत्र मात्र प्राप्त गर्नेछन् । ह्याप्पी रनमा करिब छ सय जनाले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार १४:३८