१२ पुष २०८१, शुक्रबार | Fri Dec 27 2024

एमालेको केन्द्रीय सल्लाहकार पोखरेलको निधन

२४ कात्तिक, काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सल्लाहकार देवी पोखरेलको निधन भएको छ । उहाँको गएराति निधन भएको परिवारजनले बताएका छन । गएराति ११ बजेर २० मिनेटमा उहाँको स्वर्गारोहण भएको शनिबार दिउँसो १ बजे शंखे पिपल घोराहीमा अन्तिम संस्कार गरिने जनाइएको छ।

उहाँ मिर्गाैलाको समस्याबाट पीडित हुनुहुन्थ्यो । सन्देस पत्रिकाका माध्यमवाट दङ्गालीको सन्देस झापालीलाई भन्ने कविताका माध्यमवाट झापा विद्रोहको झिल्कोलाई राष्ट्रव्यापी बनाउन उहाँले भूमिका खेल्नुभएको थियो । उहाँ एमाले महासचिव शंकर पोखरेल र एमाले सांसद मेनका पोखरेलको सहोदर दाजु हुनुहुन्छ ।

यसैबीच एमाले महासचिव पाेखरेलले पितातुल्य दाजुको निधनको शोकमा अाफ्ना सबै कार्यक्रम स्थगित गरिएको र योबीचमा कुनै कार्यक्रममा सहभागी नहुने बताउनुभएको छ।

यस्तो छ पोखरेलको सन्देश

सन्देस पत्रिकाका माध्यमवाट दङ्गालीको सन्देस झापालीलाई भन्ने कविताका माध्यमवाट झापा विद्रोहको झिल्कोलाई राष्ट्रव्यापी बनाउन भूमिका खेल्नुहुने नेकपा(एमाले) का केन्द्रीय सल्लाहकार तथा मेरो सहोदर दाजु देवी पोखरेलको असमयिक निधनवाट हाम्रो सिंगो परिवार स्तव्ध भएको छ । हजुर आमा र आमाको संरक्षणमा हुर्कीएको हाम्रो परिवारमा उहाँले सानै उमेरमा अभिभावकीय हिसावले वुवाको भूमिका निर्वाह गर्नुपर्यो । पितातुल्य दाजुको निधनको शोकका कारणले यस बीचमा तय भएका कार्यक्रमहरुमा मेरो उपस्थिति नरहने जानकारी गराउँदछु । आज म जहाँ छु उहाँले कोरेको गोरेटोमा हिड्दाको परिणाम हो । उहाँको विचार र भावनाको पार्टी निर्माण गर्न अझै वाँकी छ । त्यो यात्रा जारी छ, जारी रहने छ । भौतिक रुपमा तपाई हाम्रो बीचमा नरहे पनि हाम्रो हृदयमा तपाई सदैव अमर हुनुहुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार ०८:३२